११ चैत, काठमाडौं । दोस्रो बजारमा पनि साना तथा मझौला (एसएमई) कम्पनीको सेयर ५ सय कित्ताभन्दा कम किनबेच गर्न नपाइने भएको छ ।
नेपाल स्टक एक्स्चेन्जले तयार गरेको साना तथा मझौला संगठित संस्था(एसएमई)को धितोपत्र निष्कासन तथा कारोबार विनियमावली मस्यौदामा दोस्रो बजारमा कारोबारको न्यूनतम सीमा ५ सय कित्ता तोकिएको हो ।
यसअघि धितोपत्र बोर्डले जारी गरेको नियमावलीले प्राथमिक बजारमा न्यूनतम भर्नुपर्ने सेयर संख्या ५ सय र बाँडफाँट गर्नुपर्ने पनि ५ सय नै तोकेको छ । प्राथमिक र दोस्रो बजार दुवैमा साना तथा मझौला कम्पनीको न्यूनतम ५ सय कित्ता सेयर किनबेच हुने भएको हो ।
तयार भएको विनियमावली मस्यौदा सञ्चालक समिति बैठकबाट पारित भएपछि मात्रै लागु हुनेछ । ‘नियमावलीकै आधारमा रहेर विनियमावली मस्यौदा तयार गरिएको छ’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ‘अब यो सञ्चालक समितिमा पुगेर केही दिनमै पारित हुनेछ ।’
दोस्रो बजारमा कारोबार हुने साना तथा मझौला कम्पनीको सेयर मूल्य परिवर्तनले नेप्से परिसूचक तथा कुनै पनि उपसूचकलाई असर पार्ने छैन । हाल डिवेन्चर तथा म्युचुअल फन्डको मूल्य परिवर्तनले पनि बजारको परिसूचक तथा उपसूचकलाई कुनै प्रभाव पार्दैन । तर पछि सूचीकृत हुन आउने कम्पनीको संख्या बढ्दै गएमा एसएमईको मात्रै छुट्टै सूचक तयार गर्न सकिने नेप्सेका अधिकारीहरू बताउँछन् ।
हालको जस्तै प्रतिकारोबार २ प्रतिशतका दरले नै मूल्य परिवर्तन हुने भएको छ । एउटा कारोबारबाट अर्को कारोबार हुँदाको मूल्य २ प्रतिशतभन्दा बढी घटबढ नहुने तथा दिनभर १० प्रतिशतभन्दा बढी घटबढ नहुनेगरी विनियमावली तयार गरिएको छ ।
नियमावली र विनियमावलीअनुसार एसएमई कम्पनीको कारोबारका लागि प्राविधिक तयारी पनि करिब सकिएको छ । एसएमई कम्पनीको कारोबारका लागि ट्रेड म्यानजमेन्ट सिस्टम (टीएमएस)मा छुट्टै विन्डो तयार गरिँदैछ ।
योसँगै टीएमएसमा हालको प्रमुख मार्केट र अर्को एसएमई गरी दुई विन्डो हुनेछ । त्यस्तै एसएमई कम्पनीको कारोबार देखाउन नेप्सेको वेबसाइटमा पनि अलग्गै ट्याब रहनेछ।
विनियमावली नेप्से सञ्चालक समिति र धितोपत्र बोर्डबाट स्वीकृत भइसकेपछि पब्लिकका रुपमा दर्ता भएका साना तथा मझौला कम्पनीले यस प्लाटफर्ममा कारोबार गर्नेगरी आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन सक्नेछन् ।
एसएमई कम्पनीले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने
अरु कम्पनीले जस्तै एसएमईले पनि बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको दुई महिनाभित्र बिक्री खुला गर्नुपर्नेछ । बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्नेछ ।
त्यस्तै हकप्रद सेयर निष्कासनका क्रममा बिक्री नभएर बाँकी रहेको सेयर पनि हकप्रद भर्नेलाई नै गोलाप्रथाबाट बाँडफाँट गर्नुपर्नेछ । हाल अन्य कम्पनीका हकमा बाँकी रहेको हकप्रद सेयर बोलकबोलमार्फत बिक्री गर्न पाउने व्यवस्था छ ।
साना तथा मझौला कम्पनीले प्रिमियममा पनि आईपीओ ल्याउन पाउँछन् । तर प्रिमियममा आईपीओ ल्याउनका लागि नियमावलीमा रहेका केही व्यवस्थाहरु भने पूरा गर्नुपर्ने छ ।
लगातार पछिल्लो तीन वर्ष खुद नाफामा सञ्चालन भइरहेको, प्रतिसेयर चुक्ता पूँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी भएको, कम्तीमा औसत वा सोभन्दा माथिल्लो रेटिङ पाएको हुनुपर्ने व्यवस्था गरिएको छ । प्रतिसेयर नेटवर्थको दुई गुणासम्मको मूल्य तोकेर निष्कासन गर्न सक्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
अब आईपीओ ल्याउने २५ करोडमुनिका सबै कम्पनी ‘एसएमई’ प्लाटफर्ममा
चुक्ता पूँजी न्यूनतम १ करोड र बढीमा २५ करोड रुपैयाँ तोकिएकाले यस्ता ‘लोक्याप’ कम्पनीमा पूँजीगत लाभ पनि बढी हुन सक्छ ।
अब नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने २५ करोडभन्दा कम चुक्ता पूँजी भएका सबै कम्पनीलाई एसएमईज प्लेटफर्ममै कारोबार गराउने गरी बोर्डले स्वीकृति दिने भएको छ ।
‘अब आईपीओका लागि स्वीकृति लिने २५ करोड मुनिका सबै कम्पनी एसएमईज प्लेटफर्म अन्तर्गत नै रहेर कारोबार हुने गरी स्वीकृति पाउने हुन्’ बोर्ड प्रवक्ता निरञ्जय घिमिरेले भने ‘तर पछि २५ करोडभन्दा बढी चुक्ता पूँजी पुर्याएर मुख्य कारोबार प्रणालीमै जान चाहनेलाई त्यो सुविधा पनि रहनेछ ।’
बोर्डको पाइपलाइनमा रहेका २५ करोडभन्दा कम चुक्ता पूँजीका कम्पनीलाई पनि अब एसएमई प्लेटफर्ममा जानेगरी स्वीकृति हुनेछ ।
कम्पनी ऐन २०६३ ले १ करोडभन्दा माथि चुक्ता पूँजी भएका कम्पनी पब्लिकमा जान सक्ने व्यवस्था गरे अनुसार (नियामकीय व्यवस्था बाहेक) त्यस्ता कम्पनीले आईपीओ निष्कासन गर्न सक्छन् ।
२५ करोडभन्दा कम चुक्ता पूँजी भएका कम्पनीले चाहेर पनि हालको जसरी नियमित कम्पनीका रूपमा सूचीकृत हुन नसक्ने घिमिरेले प्रष्ट पारे ।
तर, हाल बजारमा सूचीकृत भइसकेका २५ करोड मुनिका कम्पनीका हकमा भने यसले प्रभाव पर्ने छैन । हाल बजारमा सूचीकृत भई कारोबार भइरहेका २५ करोडभन्दा कम चुक्ता पूँजीका कम्पनी नै सबैभन्दा मूल्यवान ठहरिएका छन् ।
सबैभन्दा महँगो युनिलिभरको चुक्ता पूँजी जम्मा ९ करोड २० लाख रुपैयाँ छ । जसको सेयर मूल्य प्रतिकित्ता ४६ हजार ९०० सय रुपैयाँ छ । त्यस्तै प्रतिकित्ता मूल्य २० हजार ३३८ रुपैयाँ रहेको बोटलर्स नेपाल बालाजु, १२ हजार ९५८ रुपैयाँ रहेको बोटलर्स नेपाल तराईको चुक्ता पूँजी पनि २५ करोडभन्दा कम छ ।
हाइड्रोपावर सेक्टरको सबैभन्दा महँगो मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावर, सबैभन्दा महँगो माइक्रोफाइनान्स आत्मनिर्भर लघुवित्तको चुक्ता पूँजी २५ करोडभन्दा कम छ ।
त्यसकारण, थोरै चुक्ता पूँजी भए पनि कम्पनीहरू ठूलो पूँजीका भन्दा मूल्यवान, ठूलो व्यापार र आम्दानी गर्न सक्षम हुन्छन् । चुक्ता पूँजीका आधारमा मात्रै कम्पनी साना/ठूलोका रुपमा व्याख्या हुँदैनन् ।
तर, धितोपत्र बोर्डले बनाएको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावलीले भने २५ करोडभन्दा कम चुक्ता पूँजीका सबै कम्पनीलाई साना तथा मझौलाका रूपमा व्याख्या गरेको छ ।
+ There are no comments
Add yours