तीन अर्ब अठसट्ठी करोड लगानी

०९ चैत्र, काठमाडौँ । कोशी प्रदेशका ८४ अर्थोडक्स चिया उद्योगमा तीन अर्ब ६८ करोड ७४ लाख रुपियाँ लगानी छ । त्यसको ३६.४ प्रतिशत हिस्सा ऋणको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपुँजी छ ।

नेपाल राष्ट्र बैङ्कले तयार गरेको ‘कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान एवं आन्तरिक र बाह्य बजारमा यसको सम्भावना र चुनौती विशेष अध्ययन प्रतिवेदन २०८०/८१’ अनुसार दुई वटा उद्योगमा मात्रै वैदेशिक लगानी छ । कोशी प्रदेशमा २१ अर्गानिक सर्टिफाइड र ७९ अर्गानिक अनसर्टिफाइड गरी कुल एक सय अर्थाेडक्स चिया प्रशोधन उद्योग सञ्चालनमा छन् ।

अध्ययन अनुसार ती उद्योगबाट आर्थिक वर्ष २०७९/८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको छ । जसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको हिस्सा क्रमशः ११.९ र ८८.१ प्रतिशत छ । अध्ययनमा कुल ८४ अर्थोडक्स चिया उद्योग र ४२ अर्थोडक्स चिया खेती गर्ने किसान समावेश भएका छन् । अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगमा लगानीको प्रतिफल दर क्रमशः १३.५ र १०.८० प्रतिशत छ ।

अध्ययनमा सहभागी अर्थोडक्स चिया उद्योगीले व्यक्तिगत किसान, किसान समूह, सहकारीबाट खरिद गर्ने तथा आफ्नै बगानबाट उत्पादन गर्ने हरियोपत्ताको प्रतिकेजी औसत खरिद/लागत मूल्य ५४.९३ रहेको बताए ।

यसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगको प्रतिकेजी औसत खरिद/लागत मूल्य क्रमशः ८७ रुपियाँ र ४९.३५ रुपियाँ रहेको छ । प्रशोधित अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको प्रतिकेजी आन्तरिक बजार मूल्य ९४१.६० रुपियाँ र अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपियाँ रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको मूल्य क्रमशः ४३३.७१ रुपियाँ र ४०८.३१ रुपियाँ मात्र रहेको पाइएको छ ।

औसतमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको प्रतिकेजी बिक्री मूल्य क्रमशः ८२३.१४ रुपियाँ र ४११.१२ रुपियाँ छ । अर्थोडक्स चिया उद्योगबाट उत्पादित अर्थोडक्स चियामध्ये ८८.६ प्रतिशत भारत तथा तेस्रो मुलुकमा निर्यात हुने गरेको छ भने ११.४ प्रतिशत आन्तरिक बजारमा बिक्री हुने गरेको छ ।

अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात २१.६३ प्रतिशत रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात न्यून मात्रामा छ ।

प्रशोधित अर्थोडक्स चियाको बिक्री आय दुई अर्ब ५७ करोड ५५ लाख २१ हजार ९१३ रुपियाँ रहेको छ, जसमा निर्यातको हिस्सा ८६.७२ प्रतिशत छ । यसले उद्योगको अधिकांश आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने र उद्योगको आर्थिक सफलता निर्यातमा निर्भर देखिन्छ ।

अध्ययनका अनुसार आव २०७९/८० मा कोशी प्रदेशमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरूको औसत क्षमता उपयोग ५६.२१ प्रतिशत रहेको छ । प्रतिवेदन अनुसार उद्योग कम क्षमतामा सञ्चालन हुनुको प्रमुख कारणमा कच्चा पदार्थको अभाव, विद्युत् आपूर्तिमा अनियमितता, प्राविधिक र दक्ष जनशक्तिको अभाव, मागमा कमी आदि छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours