०८ चैत, काठमाडाैं । बजार सुचक घटेर समग्र बजार पुँजीकरण घटिरहेका बेला विभिन्न कम्पनीका साधारण सेयर, बोनस, हकप्रद तथा थप नयाँ निष्काशनका सेयर सूचीकरण भइरहेका छन् । यसरी थपिएका सेयरले बजार पुँजीकरणको गिरावटलाई कम बनाउन टेवा पुर्याइरहेका छन् ।
वर्ष दिनभन्दा लामो समयसम्म नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन बन्दा रोकिएका प्राथमिक निष्काशनहरु अहिले धमाधम स्वीकृत भईरहेका छन् । ती कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरमा निष्काशन भएका सेयरहरु नेप्सेमा सूचीकरण भई दोस्रो बजारमा २ हजार रुपैयाँसम्मको मूल्यमा किनबेच भएका छन् । अंकित मूल्यमा सूचीकरण हुँदा नै समग्र बजार पुँजीकरणमा योगदान गरेका यस्ता कम्पनीका सेयर मूल्यमा आएको वृद्धिले बजार पुँजीकरणमा थप योगदान पुर्याइरहेका छन् ।
यो साता मात्र ६ वटा कम्पनीका बोनस, हकप्रद तथा एफपिओ नेपाल स्टक एक्स्चेञ्जमा कारोबारका लागि सूचीकरण भएका छन् । ६ वटा कम्पनीले कुल ४ करोड ११ लाख १७ हजार ८२७.४ कित्ता सेयरहरु नेप्सेमा सूचीकरण गराएका हुन् ।
जसमा लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकरण गराएको छ । बैंकले १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता सेयर सूचीकरण गराएको हो ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ७.६० प्रतिशतले हुन आउने ७ लाख ९८ हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
स्वरोजगार लघुवित्तले निष्काशन गरेको थप नयाँ सेयर पनि दोस्रो बजारमा कारोबारका लागि सूचीकृरण भएको छ । लघुवित्तको १ लाख ९५ हजार ७७३ कित्ता थप नयाँ सेयर नेप्सेमा सूचीकरण भएको हो ।
साना किसान विकास लघुवित्तको १३.३० प्रतिशतले हुने ५० लाख ६२ हजार ४७७.१५२ कित्ता बोनस सेयर पनि यसै साता नेीसेमा सूचीकरण भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले साविकका सेयरधनीलाई बिक्री गरेको ८८.४५१ प्रतिशत हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सूचीकरण गराएको हो ।
पछिल्लो समयमा गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा ७५ करोड रुपैयाँको सेयर निष्काशन गरी नेप्सेमा सूचीकरण गराएको थियो । अहिले सो पुँजीको पुँजीकरण १५ अर्ब २६ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्सले भर्खरै निष्काशन गरेका सेयर नेप्सेमा सूचीकरण भइसकेका छैनन् । नेको इन्स्योरेन्सले निष्काशन गरिरहेको २५ प्रतिशत हकप्रद तथा विन नेपाल लघुवित्तको एफपिओ, पियोर इनर्जीको साधारण सेयर लगायत अन्य कम्पनीको हकप्रद निष्काशन भई सूचीकरण हुँदा त्यसले समग्र बजार पुँजीकरणको आकार बढाउनेछ ।
बजार अहिले निरन्तर ओरालो लागिरहेको अवस्थामा बजार पुँजीकरण पनि त्यसरी नै घटिरहेको छ । नयाँ सूचीकरणका कारण पुँजीकरणको गिरावट कम भए पनि अर्कातिर सेयरको तरलता बढिरहेको छ । बजार घटिरहेको अवस्थामा बढेको सेयर संख्याले लगानीकर्ताहरुमा सेयर बिक्रीको दवाब पर्न सक्छ ।
+ There are no comments
Add yours