तेलको आडमा छलाङ मार्दै निर्यात व्यापार, दुई महिनामै ५९ अर्ब ३८ करोड

०७ चैत, काठमाडौं । नेपालबाट वनस्पति तेल निर्यातले छलाङ मार्दा निर्यात व्यापारमा तीव्र वृद्धि देखिएको छ । पछिल्लो दुई महिना अवधिमा नेपालबाट ५९ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) सम्म १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । पुस मसान्तसम्म निर्यात ९८ अर्ब ७८ करोड थियो ।

यस वर्ष फागुनसम्म गत आव यसै अवधिको तुलनामा ५७.२० प्रतिशतले निर्यात बढेको देखिएको छ । गत आवको फागुनसम्म १ खर्ब रुपैयाँको मात्र निर्यात भएको थियो ।

वनस्पति तेलको आडमा उचालियो निर्यात

भन्सार विभागका अनुसार यस वर्ष वनस्पति तेलको आडमा निर्यात उछालिएको छ । विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म २२ करोड ८५ लाख ४८ हजार १ सय ९४ किलो सोयाबिन तेल निर्यात भएको छ । सोयाबिन तेल ४७ अर्ब ९४ करोड ७१ लाख ५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस अवधिमा सनफ्लावर तेल निर्यात ३ करोड ५० लाख लिटर बराबर निर्यात भएको छ । यसले निर्यात व्यापारको मात्रा ७ अर्ब ९८ करोड २३ लाख बराबरको मात्र भएको छ ।

८ महिनामा धेरै निर्यात हुने वस्तुको तेस्रो स्थानमा कार्पेट तथा टेक्सटायल छ । जुन ७ अर्ब २१ करोड २४ लाख रुपैयाँ बराबर निर्यात भएको छ । अलैंची चौथो स्थानमा छ । ८ महिनामा ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको तथ्यांकमा देखिएको छ ।

फागुन मसान्तसम्म २२ करोड ८५ लाख ४८ हजार १ सय ९४ किलो सोयाबिन तेल निर्यात भएको छ । सोयाबिन तेल ४७ अर्ब ९४ करोड ७१ लाख ५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
बढ्दैछ आयात

निर्यातमा छलाङ सुरु भएको केही महिनायता आयात समेत बढ्दो क्रममा रहेको देखिन्छ । यसले आर्थिक गतिविधि बढ्न थालेको संकेत गर्छ । त्यसो त वनस्पति तेलको निर्यातमा आवश्यक पर्ने कच्चापदार्थ आयात समेत सोहीमात्रामा बढ्दा समग्र आयात वृद्धि भएको छ ।

८ महिना अवधिसम्म ११ खर्ब ४५ अर्ब ५६ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन गत आव २०८०/८१ को यसै अवधिको तुलनामा ११.२० प्रतिशत धेरै हो ।

यस वर्ष ८ महिनामा सबैभन्दा धेरै वस्तु आयात डिजेल भएको छ । जुन ८ लाख ७१ हजार ३ सय ९९ किलोलिटर भएको छ । यसका लागि ७८ अर्ब ८६ करोड रुपैयाँ विदेशिएको छ ।

दोस्रो स्थानमा कच्चा सोयाबिन तेल छ । यसका लागि ५१ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ । तेस्रो स्थानमा पेट्रोल छ । जसका लागि ४२ अर्ब ८० करोड रुपैयाँ विदेशिएको देखिन्छ ।

चौथो स्थानमा खाना पकाउने ग्यास धेरै आयात भएको छ । यसका लागि ४१ अर्ब रुपैयाँ विदेशिएको तथ्यांक छ । यो अवधिमा सवारीसाधन आयातमा मात्र ६२ करोड २७ अर्ब रुपैयाँ विदेशिएको छ ।

८ महिना अवधिसम्म ११ खर्ब ४५ अर्ब ५६ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन गत आव २०८०/८१ को यसै अवधिको तुलनामा ११.२० प्रतिशत धेरै हो ।

समग्र पेट्रोलियम आयातमा २ खर्बभन्दा बढी विदेशिएको छ । भन्सारबाट सरकारले ३ खर्बमाथि राजस्व उठाएको भन्सार विभागको तथ्यांक छ ।

वैदेशिक व्यापारको आकार वृद्धि

८ महिनामा कुल वैदेशिक व्यापारको आकार समेत बढेको छ । फागुनसम्म कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापार भएको छ । गत आवको फागुनसम्म ११ खर्ब ३० अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो । व्यापार घाटा सामान्य बढेको छ ।

यस वर्ष व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबर छ । जुन गत आवको तुलनामा ६.२२ प्रतिशत धेरै हो । यस वर्ष कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ३६.३५ प्रतिशतले बढ्दा आयात हिस्सा ३.५५ प्रतिशतले खुम्चिएको देखिन्छ ।

नेपालले १ सय ६० भन्दा बढी देशसँग अन्तर्राष्ट्रिय व्यापार गर्ने गरेको देखिन्छ । सबैभन्दा धेरै भारतसँग हुन्छ । भारतसँग व्यापार घाटा पनि धेरै छ । ८ महिनामा भारतबाट ६ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको सामान नेपाल आएको छ । नेपालबाट १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

यस वर्ष व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबर छ । जुन गत आवको तुलनामा ६.२२ प्रतिशत धेरै हो ।
चीनबाट २ खर्ब १९ अर्ब बराबरको वस्तु आउँदा २ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । आयात व्यापारका दृष्टिले तेस्रो स्थानमा अर्जेन्टिना छ । त्यहाँबाट ४६ अर्ब रुपैयाँको सामान भित्रिएको छ । अर्जेन्टिनाबाट वनस्पति तेल बढी भित्रिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours