०७ चैत, काठमाडाैं । नेपालको दिगो वित्तीय समाधान प्रवर्द्धनमा एनएमबि बैंक, अन्तर्राष्ट्रिय वित्त निगम र युरोपियन युनियनले साझेदारी गरेका छन् । उक्त साझेदारी अन्तरगत तीन संस्थाले संयुक्त रुपमा तीन दिने तालिम आयोजना गरेका छन् । युरोपियन युनियनको एसीएसआईआईएस कार्यक्रमको सहयोगमा मार्च पहिलो साता आयोजना गरिएको तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय, र एसएमई (साना तथा मध्यम उद्यम) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाको अवस्थामा तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक, र सुशासनका अभ्यासहरूलाई समाहित गर्न जोड दिएको विश्वास गरिएको छ । प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा तालिमले योगदान पुर्याएको आयोजकको विश्वास छ । अन्तर्राष्ट्रिय वित्त निगमका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि बैंकका व्यवसायिक टोली, जोखिम अधिकृतहरू, तथा ग्राहकहरू गरी ९० जना तालिममा सहभागी भएका थिए ।
तालिमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । “यस पहलले इएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसका ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ,” विज्ञप्तिमा भनिएको छ ।
एनएमबि बैंकले हाल देशभरका २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
+ There are no comments
Add yours