मतपत्रमा त्रुटि भएपछि पीएन क्याम्पस पोखरामा सुरु भएन मतदान

०५ चैत, पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो मानिने पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि छापिएको मतपत्रमा त्रुटि भएको छ ।

अखिल छैटौंको चुनाव चिह्न विना मतपत्र छापिएपछि विवाद भएको छ । सोही विवादका कारण बिहान ८ बजेबाट हुने भनिएको मतदान अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।

मतपत्रमा चुनाव चिह्न नै छुटेको पाइएपछि फेरि मतपत्र छाप्ने तयारी भइरहेको निर्वाचन समिति संयोजक डा. रामचन्द्र पोखरेलले जानकारी दिए ।

समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौंको चुनाव चिह्न थिएन । मतपत्रमा चुनाव चिह्न छुटाएर निर्वाचन समितिले चुनाव प्रभावित पार्न खोजेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । अहिले पृथ्वीनारायण क्याम्पसबाहिर विभिन्न विद्यार्थी संगठनले कोण सभा गर्दै छिटो चुनाव गर्न दबाब दिइरहेका छन् ।

९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव जित्दै आएको छ । यसपटक संगठनहरु विरासत जोगाउने र भत्काउने रणनीतिमा छन् ।

पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् । अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् ।

अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ पनि स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टी निकट विद्यार्थीहरुले साथ दिएका छन् ।

माओवादी केन्द्रको गुटगत राजनीतिको प्रभाव

कास्कीमा नेकपा माओवादी केन्द्रको गुटगत राजनीतिको प्रभाव विद्यार्थी चुनावमा पनि देखिएको छ ।

माओवादी नेता राजकाजी गुरुङ ‘करण’ र अर्का नेता दीपक कोइरालाबीच गुटगत लडाईंको प्रभावले विद्यार्थीहरु पनि विभाजित छन् । करण समूहबाट बेग्लै प्यानल बनाएर चुनावमा होमिँदा कोइराला समूह भने संयुक्त मोर्चामा सहभागी भएर चुनावमा होमिएको छ ।

पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीबीच विवाद भएपछि अघिल्लो स्ववियु निर्वाचन पनि हुन सकेको थिएन । यसपटक मतपत्रमै त्रुटि भएपछि निर्वाचन भाँडिने हो कि भन्ने चिन्ता विद्यार्थी संगठनबीच व्याप्त छ ।

अखिल छैटौंका नेता गणेश अधिकारीले आफूहरु शान्तिपूर्वक निर्वाचन सम्पन्न गर्ने योजनामै रहे पनि षडयन्त्रपूर्वक मतपत्रमा त्रुटि गरिएको बताए ।

निर्वाचन समिति संयोजक डा. रामचन्द्र पोखरेलले भने असावधानीपूर्वक मतपत्रमा त्रुटि भएको र फेरि सच्याएर छाप्ने काम भएको बताए । ‘निर्वाचन शान्ति हिसाबले नै सम्पन्न गर्ने गरी अगाडि बढेको थियो । तर, असावधानीका कारण त्रुटि भएपछि फेरि मतपत्र छापेर सार्वदलीय बैठक बोलाउँदै छौं,’ उनले भने, ‘गल्ती सच्याउँदै निर्वाचनलाई छिटोभन्दा छिटो सञ्चालन गर्ने योजनामा छौं । सर्वदलीय बैठक बोलाएर छलफल गरेर अगाडि बढाउँछौं ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours