नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त

प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।

०४ चैत, काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको स्राेतबाट डिजिटल खबरलाई जानकारी भयो।

सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।

प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।

नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए । तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् ।

प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरुबीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्ने गर्छ ।

यसपटक पनि तिनै जना आकांक्षीले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए । यद्यपि, सरकारले पहिलो वरियतामा रहेका थापालाई नै आईजीपी बनाएको छ ।

५५ औँ नम्बरको इन्स्पेक्टर

इन्स्पेक्टरको आइक्यू र जीके परीक्षामा दीपक पास भइसकेका थिए । लिखित परीक्षा २०५० फागुन २१ देखि २३ सम्म हुने सूचना प्रकाशित भइसकेको थियो । त्यसैवेला थापा विवाह बन्धनमा बाँधिने भए । फागुन २२ मा विवाहको टुंगो लागेपछि उनले इन्स्पेक्टरको जाँच छाड्ने निर्णय लिए । थापा भन्छन्, ‘लगन सार्न खोज्दा एक वर्षपछि मात्रै अर्को लगन जुर्ने अवस्था आएपछि मैले जाँच छाडेर विवाह गर्ने निर्णय गरेँ ।’

सूर्यविनायक चोकको लक्ष्मी मिठाई भण्डार उनको ‘चिया जक्सन’ थियो । अहिलेको जस्तो मोबाइलको पहुँच नभएकाले उनलाई प्रहरीमा जान प्रेरित गर्नेमध्ये नमस कार्कीले सूर्यविनायकमा भेटेर भने, ‘भाइ इन्स्पेक्टरको जाँच पछि सरेको छ ।’

पर्सबाट झिकेर कार्कीले गोरखापत्रको सूचना देखाएपछि थापा ‘कन्भिन्स’ भए । सूचनामा लेखिएको थियो, ‘विशेष कारणवश प्रहरी निरीक्षकको परीक्षा चैत ३ देखि ५ सम्म सञ्चालन हुनेछ ।’ संयोगले परीक्षा सरेपछि थापाले जाँचको तयारी गरे । भन्छन्, ‘त्यो परीक्षा मेरै लागि सरेजस्तो भयो ।’ २०५० चैतमा परीक्षा दिए । २०५१ चैत ५ मा उनले ५५ औँ नम्बरमा नाम निकाल्न सफल भए ।

समूहमा १ सय जना उत्तीर्ण भएका थिए । प्रहरी प्रधान कार्यालयले पहिलो समूहमा ६० जना र दोस्रोमा ४० जनालाई राखेर वर्गीकरण गरेको थियो । मध्यावधि चुनाव भयो, अल्पमतको सरकार बन्यो । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री थिए ।

५० औँ नम्बर समूहकाले नियुक्ति पाए । इन्स्पेक्टरमध्ये ८ जनाको नियुक्ति तत्काल भएन । परीक्षा पास भए पनि थापासहित ८ जनाले ६ महिना ढिलो नियुक्ति पाए । ढिला नियुक्ति पाउनेमा सुदीप गिरी, दीपक थापा, भीम ढकाल, टेकबहादुर तामाङ, राजकुमार बैदवार, विनोद खड्का र कृष्णकुमार महत थिए । पछिल्लो समूहका ४० जना रिट लिएर अदालतमा गए । थापा भन्छन्, ‘पर्खिंदा पर्खिंदा २०५२ भदौ १९ मा हामी ८ जनाले नियुक्ति पाएका थियौँ ।’

सँगै नियुक्ति पाएकामध्ये सुदीप गिरी र टेकबहादुर तामाङ थापासँगै आईजीपी हुने प्रतिस्पर्धामा थिए । चन्द्रकुवेर खापुङसहित ४० जनाले दायर गरेको मुद्दा पछि फिर्ता भयो । त्यसपछि उनीहरूले पनि नियुक्ति पाए । थापाले १८ महिना इन्स्पेक्टरको तालिम गरे ।

को हुन् थापा ?

भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए ।

उनले आईए पास गर्ने बित्तिकै निजी विद्यालयमा अध्यापन गराउन थालेका थिए । २०४८ सालमा उनले शिक्षा सेवा आयोगको परीक्षा दिए र निमावि शिक्षकमा नाम निकालेका थिए ।

भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष पढ्दैगर्दा उनले कन्या मावि, भक्तपुरमा पढाउन थालिसकेका थिए । पछि १० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन खुलेका बेला उनले दर्खास्त दिएका थिए ।

उनले आईए र बीए दुवैमा भक्तपुर क्याम्पस टप गरेका थिए । २०५० सालमा हालका आईजीपी वसन्त कुँवरले पनि सोही दर्खास्तमा आवेदन दिएका थिए ।

तर, तत्कालीन सरकराले सर्टलिस्टमा परेका पहिलो समूहका ६० जनामध्ये ५२ जनालाई मात्र नियुक्ति दिए । बाँकी रहेका ८ जनाले ६ महिनापछि १९ भदौ २०५२ मा नियुक्ति पत्र बुझ्दा थापालाई कुँवरको बिदाइ गर्ने अवसर जुरेको छ ।

कुँवरको बिदाइ कार्यक्रम प्रहरी प्रधान कार्यालयमा साँझ ५ बजे राखिएको छ । प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुढामा नेतृत्व गर्ने अवसर पाएका छन् ।

प्रहरी वृत्त, महाराजगञ्जको पनि प्रमुख रही सकेका छन् भने उनले जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमाण्ड गरेका छन् ।

बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत काम गरेका छन् ।

एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरे । पछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरे ।

३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्‌मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours