युसुफ मलिकले चितवनबाट एनएसएल खेल्ने

०४ चैत, काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फरवार्ड मलिक युसुफलाई अनुबन्ध गरेको छ ।

चितवनले पाँचाै विदेशी खेलाडीको रुपमा युसुफलाई अनुबन्ध गरेको हो । मलिक हाल मछिन्द्र एफसीबाट नेपालको विभिन्न नकआउट फुटबल प्रतियोगिताहरु खेलिरहेका छन् ।

चितवनले यसअघि अमेरिकन जोनाथन क्याम्पबेल, उज्वेकिस्तानमा नोदरिक माभनोलोभ, जमैकन गोलकिपर अमल नाइट र अमेरिकन भिक्टोर मानसारेलाई अनुबन्ध गरिसकेको छ ।

चितवनले अनुभवी विदेशी खेलाडी अनुबन्ध गर्दै सन्तुलित टिम बनाएको छ । यसअघिका दुई संस्करणमा कमजोर प्रदर्शन गरेको चितवनले यसपटक मार्की प्लेअर देखि प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम निर्माण गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ ।

नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्टलाई मार्की बनाएको चितवनले नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

चितवनले अघिल्लो सिजनका मार्की तथा कप्तान गोलकिपर विशाल श्रेष्ठसहित डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई पनि रिटेन गरेको थियो ।

यस्तै चितवनले अक्सनमा क्याटेगोरी ए का अभिषेक लिम्बु र सुमित श्रेष्ठ तथा क्याटेगोरी बी का शिशिर लेखी, जय गुरुङ, मिलन राई र निरज चौधरीलाई अक्सनबाट लिएको थियो भने क्याटेगोरी सी को ड्राफ्टबाट विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान र प्रदिप भण्डारीलाई अनुबन्ध गरेको थियो ।

चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours