कोषका रकम रोजगारी बढाउने क्षेत्रमा प्रयोग गरौं : अध्यक्ष ढकाल

०४ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने बताएका हुन् ।

अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरुको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने बताए ।

उनले कोषहरुको करिव ५२ प्रतिशतभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताए ।

नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायत कोषहरुमा करिब ५२ प्रतिशत भन्दा बढी फण्ड रहेको बताउँदै उनले भने, ‘करिव दुई खर्ब ७० अर्बको हाराहारीमा यहाँहरुको फण्ड रहेछ । त्यसैगरेर एसएसएफको कुरा गर्दा १ खर्ब जति छ । सञ्चय कोषको पनि त्यति नै ठूलो फण्ड छ । तर हामी खासगरी रोजगारी सिर्जना, पूर्वाधार बनाउने कुराहरु, आम पब्लिकलाई सर्भिस दिनेकुराको त्यत्तिकै खाँचो छ । यो फण्डको प्रयोग गर्न सकिरहेका छैनौं ।’

उनले थपे, ‘एउटा मेरिट बेसिसमा सर्टेन प्रसेन्टेज पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, हाइड्रोपावर लगायत कतिपय फण्ड सरकार मातहतका कम्पनीहरुमा शुरु भइसकेको छ । निजी क्षेत्रको प्रोजेक्टमा पनि लगानी गर्नुपर्छ ।’

अध्यक्ष ढकालले जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिए ।

– न्यूज एजेन्सी नेपाल

You May Also Like

More From Author

+ There are no comments

Add yours