०३ चैत, पाल्पा । कालीगण्डकी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पालपाका अनुसार बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटीको शव फेला परेको हो ।
दुवै जना मृतक कालीगण्डकी करिडोर सडक खण्डमा काम गर्दै आएका कामदार रहेको प्रहरीले जनाएको छ ।
मृतक अस्लामी बगनासकाली गाउँपालिका–६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडक खण्डको अस्थायी क्याम्पमा बसी सोही सडक खण्डमा डोजर अप्रेटरको काम गर्दै आए थिए ।
उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीहरूसँगै क्याम्पमा सुतेकोमा २७ गते बिहान हेर्दा ओछ्यानमा नभएको र खोजतलास गर्दा ५ दिनपछि शनिबार राति मृत अवस्थामा भेटिएका हुन् ।
अस्लामीलाई खोजतलासको क्रममा माईचौरस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
यस्तै अर्का मृतक रास्कोटी राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा काम गर्दै आएकोमा नदी किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
उनलाई खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल मृत अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
प्रारम्भिक अनुसन्धानपछि अस्लामीको शवलाई पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं र रास्कोटीको शवलाई पाल्पा अस्पताल पठाइएको छ ।
दुवै घटनाको विषयमा अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
+ There are no comments
Add yours