गरे के हुँदैन ? १ कठ्ठा जग्गामै १२ क्विन्टल आलु फलाए दलबहादुरले

०३ चैत, कञ्चनपुर । १ कठ्ठा जग्गा जम्माजम्मी दुइटा घडेरी पुग्ने जग्गा हाे । यति जग्गामा खेती गरेर कति नै अन्न फल्ला र भन्ने धेरैकाे साेच हुन सक्छ । तर, त्यही १ कठ्ठा जग्गामा १२ क्विन्टल आलु फल्छ भन्ने सुन्दा जाेकाेहीलाई पत्याउन गाह्राे पर्छ ।

तर, शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले १ कठ्ठा जग्गामै १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलु लगाएका कारण उनले यति थोरै जग्गामा धेरै आलु फलाउन सफल भएका हुन् ।

पहिलो पटक उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफैँ द‌ंग छन् । ‘आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ,’ चौधरीले भने, ‘रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बिउ ल्याएर रोपेँ, भनेजस्तै फलेको छ ।’ ५ रुपैयाँ प्रतिदानाका दरले ८ किलो आलु रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए ।

पहिलो पुस्ताको आलुको बिउ भएकाले उत्पादन भएको आलु उनले बिउका रूपमा राखेर पुनः रोप्ने योजना बनाएका छन् । एउटै दाना आधा किलोदेखि २ किलोसम्मका छन् । यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठुलो फल लाग्ने, खानमा स्वादिलो रहेको उनले बताए । मंसिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरी बताउँन् ।

चौधरीले जिल्लामा शीत भण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेका छन् । ‘घरमै राख्दा कुहिएर बिग्रिन्छ,’ उनले भने, ‘शीत भण्डारमा राख्नुपर्ने हुन्छ, जिल्लामा एरउटा मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीत भण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।’

३ दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न छन् । सो अवधिमा ११ प्रजातिका आलु लगाएर हेरेको जनाउँदै उनले यति बढी फल्ने आलु भने पहिलो पटक खेती गरेको बताए ।

अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा ५ देखि ७ क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि १ बिघा जग्गामा आलु खेती गर्दै आएका छन् । उनले प्रतिवर्ष २०० देखि ३०० बोरा आलु उत्पादन गर्दै आएका छन् । आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलु खेती गरे बढी उत्पादन लिन सकिने उनी बताउँछन् ।

आलु उत्पादनमा लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि बिचौलिया र व्यापारीले निर्धारण गरेको दरमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उनकाे अनुभव छ । किसानलाई मर्का नपर्ने गरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दर निर्धारण गर्नुपर्ने उनको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा ३ पटक पुरस्कृत भइसकेका छन् ।

पूर्वमेयर दिलबहादुर ऐर किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्न शीत भण्डारको व्यवस्थासँगै बजारमा सहज रूपमा बेच्ने व्यवस्था मिलाउने काम स्थानीय तहले गर्नुपर्ने बताउँछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours