आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै

२९ फागुन, काठमाडौँ । सद्भावनाको पर्व होली ‘फागु’, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईभेगमा भने भोलि मनाउने चलन छ। तर पछिल्लो समय पहाडी क्षेत्रबाट बसाइ सरी गएका मानिसहरूले तराईमा आज पनि हर्षोल्लासपूर्ण तरिकाले होली मनाउने गरेका छन्।

आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेल्छ। होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको छ ।

मिथिलामा फागु पर्वको सेरोफेरोमा एक लोकोक्ति छ, ‘जे जिये से खेले फाउग’ अर्थात् जो बाँचे उनै खेले फागु ।’ ढोल, मृदंग, मन्जिरा बजाउँदै मस्तीमा नाच्दै गाउँदै, ‘बुरा न मानो होली है’ भन्दै मनाइने फागु एक पर्व मात्र होइन उत्सव र महोत्सव पनि हो ।

सनातन संस्कृतिमा व्यक्तिमा ज्ञानको प्रसार गर्न, नैतिकताको पाठ सिकाउन, जिम्मेवारीको बोध गराउन र समाजमा लोक परम्पराको निर्माण गर्न अनेक कला, संंस्कृति र चाडपर्वको जन्म भएको देखिन्छ ।

चाडपर्व भनेकै मानिसहरूले आ–आफ्ना देवदेवीहरूको पूजाअर्चना गरी मिठा परिकार खाएर उत्सव मनाउनु हो । यस्ता चाडपर्वलाई नै माध्यम बनाएर हाम्रा पुर्खाले सामाजिक व्यवस्था हामीलाई हस्तान्तरण गरेका हुन् ।


सनातन संवत्को सन्धिकाल अर्थात् जाँदै गरेको र आउँदै गरेको वर्षको बिचको सेरोफेरोमा पर्ने फागु पर्व एक यस्तो पर्व हो, जसमा सनातन समाजको हरेक आयामको उत्थान र विकास दृष्टिगोचर हुन्छ ।


फागु पर्वलाई मदनोत्सव, वसन्तोत्सव, होली आदि अनेक नामले पुकारिन्छ । यस पर्वमा भगवान् र भक्ति, शाश्वत र नश्वर, आसुरी र सात्त्विक प्रवृत्ति आदि अनेक तत्त्व र तथ्यको उजागर भएको पाइन्छ ।

भगवान् विष्णुको चौथो नरसिंह अवतार यसै अवसरमा भएको हो, जसले असुरराज हिरण्यकशिपुको वध गर्‍यो । भगवानको तेस्रो वराहको कथा पनि चौथो अवतारको कथासँग जोडिएको छ ।

श्रीमद्भाग्वद्गीताको सातौँ श्लोकमा भगवान विष्णुका आठौँ अवतार श्रीकृष्णले भन्नुभएको छ —

‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।’

अर्थात् जहाँ धर्मको पतन र अधर्मको उत्थान हुन थाल्छ, त्यहाँ म अवतार लिन्छु । सनातन धर्ममा भगवान् विष्णुको धेरै विशेष दिनहरूमा व्रत, पूजा, मन्त्र जप आदिको विशेष महत्त्व छ ।

शास्त्रानुसार, भगवान विष्णुका २४ अवतार छन् । जसमा मुख्य हुन् — मत्स्य, कच्छप, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण र बुद्ध ।

हिरण्यकशिपु भगवान् विष्णुका विरोधी मात्र थिएनन्, उनी आफूलाई नै भगवान् मान्थे । तर छोरा प्रह्लादले भगवान् विष्णुको भक्ति गर्न थालेपछि उनी झस्किए । आफूले बालकै ठानेका छोराले आफ्नो विरोधीको भक्ति गर्न थालेपछि उनीमाथि अंकुश लगाउने निश्चय गरे ।
हिरण्यकशिपुका पूर्वज हयग्रीवको वध मत्स्यावतार विष्णुले र अरुणको वध भ्रामरी अवतार माता पार्वतीले गर्नुभएको थियो । तर यीमध्ये वराह र नरसिंह अवतारको सन्दर्भ फागु पर्वसँग जोडिएको पाइन्छ ।

विष्णु पुराणका अनुसार दैत्यहरूका आदिपुरुष कश्यप र उनकी पत्नी दितिका दुई पुत्र र एक पुत्री भए । जेठा हिरण्यकशिपु, कान्छा हिरण्याक्ष र छोरी होलिका थिइन् ।

मंगल समयको सहवासबाट जन्मेका कारण उनीहरू दैत्य प्रवृत्तिका भए । दैत्य दाजुभाइ भगवान् ब्रह्माको तपस्या गरी वरदान पाएर अहंकारी हुन पुगे ।

हिरण्याक्ष तीनै लोक आफ्नो अधिकारमा पार्न चाहन्थ्यो । युद्धमा अजेयको वरदान प्राप्त गरेका हिरण्याक्षले धर्र्तीका तमाम बलशालीलाई परास्त गर्दै धरतीलाई नै समुद्रमा डुबाएर लगे । अन्ततः अधर्मी हिरण्याक्षको अन्त्य गर्न भगवान् विष्णुले वराह अवतार लिएर हिरण्याक्षको वध गर्दै धर्तीको रक्षा गर्नुभयो । वराह अवतारको कारण अहंकारी हिरण्याक्ष बन्यो ।

भाइ हिरण्याक्षको वधका कारण क्रोधित हुन पुगेका दाइ हिरण्यकशिपु भगवान्को विरोधी बन्न पुगे । हिरण्यकशिपुकी पत्नीको नाम कयाधु थियो भने चारजना पुत्र थिए — प्रह्लाद, अनुहलाद, सहल्लाद र हल्लाद । दैत्यराज हिरण्यकशिपु भगवान ब्रह्माबाट वरदान प्राप्त गरेर शक्तिशाली भएका थिए । उनले आफ्नो राज्यमा कसैले पनि विष्णुको पूजा नगर भनी आदेश गरेका थिए । प्रह्लाद भने भगवान् विष्णुका भक्त थिए र ईश्वरमा उसको अटूट आस्था थियो । प्रह्लाद बाबुको आदेशविपरीत भगवान्को भक्तिमा लीन रहन थालेपछि बाबुछोराबिच त्यस्तो द्वन्द्व प्रारम्भ भयो, जसको अन्त्य भगवान् विष्णुको नरसिंह अवतार, हिरण्यकशिपुको वध र भक्त प्रह्लादको सिद्धिसँगै भयो । होलिका दहन, जसको स्मृतिमा होली पर्व मनाइन्छ, यसै कथाको अन्तर्वस्तुको एक महत्त्वपूर्ण घटना हो ।

हिरण्यकशिपु, उनका छोरा प्रह्लाद, बहिनी होलिका र नरसिंह अवतारसँग सम्बन्धित छ, होलिका पर्व । होली पर्वमा भगवान् र भक्तबिचको सम्बन्धको सन्देश पाइन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours