‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ लक्षित रणनीति बनाइँदै

२८ फागुन, काठमाडौं । सरकारले ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने भएको छ ।

नेपालमा आन्तरिक रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सोमबार र मंगलबार काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ आयोजना गरिएको थियो ।

श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको सम्मेलनले यस्तो रणनीति बनाउने गरी घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा आन्तरिक रोजगारी सिर्जना तीव्रता दिन घोषित आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ ।

रोजगार प्रवर्द्धन दशक कार्यान्वयन गर्न आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने समेत घोषणा पत्रमा लेखिएको छ ।

आन्तरिक रोजगार प्रवर्द्धन दशकका क्रियाकलाप आगामी आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमा समावेश गरी कार्यान्वयन गर्दै लगिने भएको छ ।

सरकारी क्षेत्रको सहजीकरण र निजी क्षेत्रको नेतृत्वमा तुलनात्मक लाभका नवीनतम एवं उदीयमान क्षेत्रमा लगानी अभिवृद्धि गरी आन्तरिक रोजगारी प्रवर्द्धन गरिने समेत मन्त्रालयले उल्लेख गरेको छ ।

श्रम बजारको मागका आधारमा सिपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रका रोजगारदातासँग समन्वय एवं सहकार्य गरिने भएको छ ।

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रको सुदृढीकरण र प्रविधिको अधिकतम प्रयोग गरी रोजगारदाता र श्रमिकका लागि साझा सूचना केन्द्रका रूपमा दिगो हुने गरी विकास गरिने भएको छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै सामाजिक सुरक्षा सुनिश्चितता सहित पेन्सनेबल समाज निर्माण गरिने समेत घोषणापत्रमा उल्लेख छ ।

सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफलयुक्त लगानीका माध्यमबाट राष्ट्रिय पूँजी निर्माण, विकास र परिचालन गरी श्रमिकको कल्याण अभिवृद्धि गरिने भएको छ ।

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रको सुदृढीकरण र प्रविधिको अधिकतम प्रयोग गरी रोजगारदाता र श्रमिकका लागि साझा सूचना केन्द्रका रूपमा दिगो हुने गरी विकास गरिने भएको छ ।

श्रम आप्रवासन व्यवस्थापन तथा पुनः एकीकरणका लागि ‘श्रमिकबाट उद्यमी’ बनाउन वित्तीय व्यवस्थापन परिचालन समेत गरी राष्ट्रिय कार्यक्रम सञ्चालन गरिने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सिपको प्रमाणीकरण गरी उनीहरूले आर्जन गरेको सिप, पूँजी र अनुभवलाई उत्पादनशील कार्यमा उपयोग गरी उद्यमशीलता विस्तार गर्ने समेत लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

‘सूचना प्रविधि र आन्तरिक रोजगारी : युवाहरूका लागि नयाँ अवसरहरूको तयारी’ भन्ने उद्देश्यसाथ सूचना प्रविधि र स्टार्टअप कार्यक्रम लागु गरिने भएको छ ।

प्राविधिक शैक्षिक संस्था तथा प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्य मार्फत श्रम बजारको माग र आपूर्तिबीचको खाडल पूरा गर्ने लक्ष्य मन्त्रालयको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours