२७ फागुन, काठमाडौं । ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम ‘सौर्य पीभी र ऊर्जा भण्डारण संवाद’ सम्पन्न गरेको छ।
काठमाडौंको हात्तीसारस्थित ह्वावे प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा नेपालका ऊर्जा, व्यावसायिक तथा औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवालाहरूको सहभागिता रहेको थियो। नेपाल उद्योग परिसंघ (सिएनआई) सँगको सहकार्यमा आयोजना गरिएको यस विशेष संवादले नेपालमा सौर्य फोटोभोल्टिक प्रणाली र ऊर्जा भण्डारण समाधानहरूका सम्भावनाहरूको खोजी गर्न महत्वपूर्ण भूमिका खेलेको ह्वावेको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ऊर्जा नियामक आयोग लगायतका संस्थाहरूको सहकार्य रहेको थियो।
कार्यक्रममा ह्वावे नेपालका सीईओ जिम हुआङ, ऊर्जा विकास परिषदका अध्यक्ष आशिष गर्ग, ह्वावे डिजिटल पावर विभागका निर्देशक जेम्स झाङ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, एनएमबी बैंकका दिगो ऊर्जा बैंकिङ प्रमुख दिनेश दुलाल, विद्युत नियमन आयोगका सदस्य डा. मधुसूदन अधिकारी, टोङवेईका प्राविधिक विज्ञ ग्यारी, शिव शक्ति समूह, डिजेपीएल समूह र चौधरी समूहका प्रमुख अधिकारीहरूले विचार प्रस्तुत गरेका थिए।
वक्ताहरूले सौर्य पीभी र ऊर्जा भण्डारण प्रविधिहरूको प्रयोगबाट उद्योगलाई डिकार्बोनाइज गर्ने, ऊर्जा लागत घटाउने तथा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्ने विषयमा चर्चा गरेका थिए।
कार्यक्रममा ह्वावेले ‘फ्युजन सोलार सी एन्ड आई ओएसिस’ समाधानसहित १ सी/१५० के र २१५/१०८ केडब्लुएच सी एन्ड आई ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) सार्वजनिक गरेको थियो। ह्वावे नेपालका सीईओ जिम हुआङ, प्रमुख प्राविधिक अधिकृत लिक्सियाओवेई तथा ह्वावे दक्षिण एसिया डिजिटल पावर बिजनेस डिपार्टमेन्टका प्रबन्ध निर्देशक निक्सियाओपेङको नेतृत्वमा नयाँ प्रविधिहरू अनावरण गरिएको थियो।
यी समाधानहरू नेपाली उद्योगहरूलाई ऊर्जा लागत घटाउन, बिजुली आपूर्तिको विश्वसनीयता सुधार गर्न तथा कम-कार्बन, सर्कुलर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने उद्देश्यले विकास गरिएका छन्।
ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम हुआङले नेपालमा हरित ऊर्जा प्रवर्द्धन गर्न सहकार्य र नवीनता आवश्यक रहेको बताए। उनले भने, “हामी सहकार्य र नवीनता मार्फत दिगो ऊर्जा समाधानहरूलाई अघि बढाउन प्रतिबद्ध छौं।”
नेपाल उद्योग परिसंघका ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्गले भने, “नेपालको औद्योगिक भविष्य दिगो ऊर्जा समाधानहरूमा निर्भर गर्दछ। सौर्य ऊर्जा र ऊर्जा भण्डारण समाधानहरूले स्वच्छ ऊर्जा लक्ष्य हासिल गर्न उद्योगहरूलाई सहायता गर्नेछन्।”
कार्यक्रम समापन गर्दै नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र राज पाण्डेले भने, “ह्वावे र स्थानीय उद्योगहरूबीचको सहकार्य आवश्यक छ। स्वच्छ ऊर्जामा आधारित भविष्यतर्फ अघि बढ्न आज प्रस्तुत गरिएका समाधानहरूले महत्वपूर्ण भूमिका खेल्नेछन्।”
+ There are no comments
Add yours