इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन, कारोबारमा निगरानी

२४ फागुन, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन दिएको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वय समितिको सिफारिसमा इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन निर्देशन दिएको हो । निर्देशनअनुसार पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका र १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेछ । बोर्डले सूचीकृत हुने इन्भेष्टमेन्ट कम्पनीलाई आवश्यक विवरण र कागजातसहित आवेदन प्रक्रिया अघि बढाउन भनेको छ । बोर्डको यस्तो निर्णयले इन्भेष्टमेन्ट कम्पनीहरूको व्यावसायिक र वित्तीय स्थिति पारदर्शी बनाउने र बजारमा राम्रो नियमनको व्यवस्था गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले बोर्डमा सूचीकृत हुन आवश्यक कागजातमा निवेदनपत्र, सञ्चालक समितिको विवरण, कम्पनीको अद्यावधिक प्रबन्धपत्र, नियमावली, दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, कम्पनीको चुक्ता पुँजी विवरण र अन्य आवश्यक कागजात समावेश गर्नुपर्नेछ । नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को ‘ग्रे लिस्ट’मा परेपछि नेपाल राष्ट्र बैंकले गत साता कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी विभिन्न निर्देशन जारी गरेको छ । तीनवटै कोषका नाममा निर्देशन जारी गर्दै उच्चपदस्थ व्यक्तित्वहरूको कारोबारमा उच्च निगरानी राख्न भनेको थियो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ नं. को उपदफा (२) बमोजिम कोषको सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकायका रूपमा राष्ट्र बैंकलाई तोकिएकाले तीनवटै कोषलाई यसअघि जारी भएको सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था प्रतिस्थापन गरी नयाँ निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours