२३ फागुन, काठमाडौं । बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथ योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको ‘मोनोपोल’ राख्ने काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
बुटवलबाट मोतीपुरतर्फको १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) हटाएर योगिकुटी–होराइजन चोक सडक खण्डमा मोनोपोल (एउटा मात्र खुट्टा) राख्न लागिएको छ । करिब एक किलोमिटर सडक खण्डको बीचमा रहेका चार टावर हटाएर राखिने मोनोपोलको जग निर्माण भइरहेको छ ।
जगको काम १५ दिनभित्र सकिने प्राधिकरणले जनाएको छ । मोनोपोल निर्माणस्थलमा आपूर्ति भइसकेको छ । उक्त सडक खण्डमा ३०/३० मिटरका दुइटा र ३२/३२ मिटरका दुइटा मोनोपोल जडान गरिने छ ।
प्राधिकरणका अनुसार चालु हलतको प्रसारण लाइनलाई करिब १५ दिन बन्द (सटडाउन) गरेर मोनोपोल जडान गरिने छ । उक्त खण्डमा रहेका पुरानो टावर हटाइने छ । साथै, तार (कन्डक्टर) पनि नयाँ प्रयोग गरिने छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थल अनुगमन गरी गर्मी सुरु हुनुभन्दा पहिले नै मोनोपोल जडान गरिसक्न आग्रह गरे । गर्मी सुरु भएपछि बुटवल क्षेत्रमा विद्युत् माग बढ्ने हुँदा प्रसारण लाइन सटडाउन गर्न समस्या हुने भएकाले त्यसअघि नै काम सक्न कार्यकारी निर्देशक घिसिङले बुटवल ग्रिड महाशाखालाई निर्देशन दिए ।
सडक र प्रसारण लाइन (तार) बीचको दुरी कम हुँदा सडकमा गुड्ने ठूला गाडीले लाइन छोएर हुन सक्ने दुर्घटनाको अन्त्य गर्न योगिकुटी–होराइजन चोक सडक खण्डमा मोनोपोल राख्न लागिएको हो । हाल सडक र लाइनबीचको दुरी ६ मिटरभन्दा कम छ । मोनोपोल राखिएपछि सडक र लाइनबीचको दुरी करिब नौ मिटर हुनेछ ।
प्रसारण लाइनको टावर हाल बीचमा हुँदा उक्त सडक खण्ड साँघुरो छ । हाल टावरको बेसमेन्टको व्यास करिब ८ मिटर छ । मोनोपोलको बेसमेन्टको व्यास करिब साढे दुई मिटरमात्र हुनेछ । यसले गर्दा सडक पनि फराकिलो हुनेछ । साथै, मोनोपोल राखिएपछि हालको प्रसारण लाइनको मार्गधिकार घट्ने भएकाले त्यसको दायाँ–बायाँ रहेका घर पनि थप सुरक्षित हुनेछन् ।
मोनोपोल निर्माणका लागि ३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणको लगानीमा निर्माण भइरहेको मोनोपोलको सम्पूर्ण काम अगामी जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
+ There are no comments
Add yours