स्वास्थ्य सेवामा पहुँच वृद्धि गरे अपांगतामा कमी ल्याउन सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल

२३ फागुन, काठमाडौं । कोशिश नेपाल, दलित अपांगता संघ नेपाल र राष्ट्रिय आदिवासी अपांग महिला संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय अपांगता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । सानोतिनो स्वास्थ्य समस्या हुँदैमा व्यक्तिले गुणस्तरीय उपचार सेवा पाउन सके अपांगता हुनबाट बचाउन सक्ने विचार उनले व्यक्त गरे ।

सरकारले स्वास्थ्य नीति, ऐनको व्यवस्था गरेपनि नीतिसँगै आवश्यक कार्यक्रम र बजेट सँगसँगै तयार गर्न नसक्दा समयमा उपचार नभई अपांगताको अवस्थासम्म पुग्नुपर्ने बाध्यता समेत रहेको मन्त्री पौडेलको भनाइ छ ।

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन स्वास्थ्य बीमा प्रभावकारी हुने भएकाले सबै नागरिकका स्वास्थ्य बीमाबाट उपचार गर्न पाउने व्यवस्थाका लागि सरकारले काम गरिरहेको मन्त्री पौडेलले जानकारी दिए ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले अपांगताका सवाललाई विश्व मञ्चमा प्रस्तुत गर्ने अवसरका लागि जुटेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय महिला आयोगका सदस्य सावित्राकुमारी शर्माले नेपाली समाजमा अपांगता भएका महिलामाथि हिंसा बढिरहेको भन्दै सुरक्षित भएर बाँच्न पाउने अवस्थाका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्नेमा जोड दिइन्।

मानव अधिकार आयोगका सदस्य प्रा. सूर्य ढुङ्गेलले अपांगता भएका व्यक्तिको मानव अधिकार रक्षा, पेशा व्यवसाय गरेर खान पाउने हकलगायतका विषयमा अनुगमन, रणनीति समेत बनाएर आयोगले काम गरिरहेको बताए ।

दलित अपांगता संघ नेपालका अध्यक्ष पार्वती पुर्कोटीले दलितमाथि भइरहेको विभेदमाथि पनि अपांगता भएका दलित महिला-किशोरी अझ बढी यौन हिंसामा पर्ने अवस्था रहेको बताइन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला अपांग संघका संस्थापक प्रतिमा गुरुङले स्थानीय तहका नेतृत्वले अपांगताका क्षेत्रका खण्डिकृत तथ्याङ्कका लागि सर्वेक्षण गर्न, स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन, शिक्षा, भौतिक पूर्वाधार अपांगता पहुँचमैत्री बनाउने कुरामा प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताइन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours