दुबई उड्न लागेको निगमको जहाज भैरहवामा ग्राउन्डेड, साढे ६ करोड खर्चेर गरिएको थियो मर्मत

२३ फागुन, काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको नेपाल वायुसेवा निगमको विमान भैरहवामा ग्राउन्डेड भएको छ । काठमाडौंबाट १ सय ४९ यात्रु लिएर काठमाडौंबाट दुबईका लागि उडान भर्ने तालिका थियो तर, बुधबार राति भैरहवामा प्राविधिक समस्याका ग्राउन्डेड भएको हो ।

भैरहवामा अवतरण गरेपछि जहाजमा इन्जिनको ‘ओभर स्पिड प्रोटेक्सन’ समस्या देखिएको थियो । चालक दल र इन्जिनियरहरूको निरीक्षणपछि सुरक्षा सुनिश्चित गर्न विमानलाई तत्काल मर्मत आवश्यक पर्ने ठहर भनेको छ । यो जहाज नेपाल वायुसेवा निगमको ‘सगरमाथा न्यरोबडी’ हो, जसलाई हालै मात्र चीनमा ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर ‘फाइभ-सी-चेक’ गराइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति १०ः३० बजे उडेको उक्त जहाज सवा ११ बजे भैरहवामा अवतरण गरेको थियो । त्यहाँबाट थप यात्रु लिएर दुबई उड्ने तालिका थियो, तर प्राविधिक समस्याले गर्दा निर्धारित उडान प्रभावित बनेको हो ।

निगम स्रोतका अनुसार, काठमाडौंबाट उड्नुअघि नै जहाजको ‘फ्युल मिटर’ परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको थियो, जसका कारण उडान करिब दुई घन्टा ढिलो भएको थियो । विमान ग्राउन्डेड भएपछि यात्रुहरूको व्यवस्थापनका लागि भैरहवामा सीमित कर्मचारी संख्याले रातभर कसरत गर्नुपरेको थियो । स्थानीय प्रशासन र होटल व्यवस्थापनको समन्वयमा यात्रुहरूलाई बिहान ४ बजेसम्म होटलमा सारिएको थियो ।

निगमका कार्यकारी अध्यक्ष दिल्लीमा उपचारका लागि रहेका कारण मर्मतसम्बन्धी समन्वय टेलिफोनमार्फत भइरहेको छ । निगमका अधिकारीहरूका अनुसार, काठमाडौंबाट इन्जिनियर पठाएर विमान मर्मत गरी आजै दुबई पठाउने तयारी भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours