२२ फागुन, बुटवल । नारायणगढ सडक खण्डमा आउँदो वर्षायामसम्म एकतर्फी कालोपत्रे सक्ने दाबीसहित निर्माण कम्पनीले कामको गति बढाएको छ ।
पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने राजमार्गको काम सक्न सरकारको पटक–पटकको निर्देशन र खबरदारी बेवास्ता गरेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले अहिले भने सडक पिच गर्ने कार्यलाई तीव्रता दिएको छ ।
दाउन्ने पूर्व र पश्चिम गरी २ खण्डमा स्तरोन्नति थालिएको ११४ किलोमिटर सडक चालू आर्थिक वर्षभित्र यात्रुलाई समस्या नहुने गरी दाउन्ने ‘सेक्सन’बाहेक अन्यत्र ‘वान वे’ गरी काम गरिरहेको आयोजनाले जनाएको छ ।
तेस्रोपटक थप गरिएको समय सकिन ५ महिना बाँकी रहँदा पूर्वी र पश्चिम दुवै खण्डमा तीव्र रूपमा काम भइरहेको हो ।
बुटवल–नारायणगढ सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनीयर शिव खनालले अहिले पूर्वी खण्डको ६५ किलोमिटरमध्ये ४३ किलोमिटरमा यात्रु पिच सडकमा यात्रा गर्न पाउने अवस्था रहेको बताए ।
‘धेरै ठाउँमा दुईतर्फी कालोपत्रे पनि भएको छ,’ इन्जिनियर खनालले लोकान्तरसँग भने, ‘४३ किमीमा गाडी पिचमा चल्नेछन्, कम्तीमा यही हिसाबले काम भए वैशाख १५ भित्र एकतर्फ जोडिन्छ होला, नभए पनि चालू आर्थिक वर्षमा एकतर्फी कालोपत्रे पक्का सकिन्छ ।’
अहिले दुम्कीबास, अरुणखोला, होङ्सी सिमेन्ट गेट क्षेत्रमा तीव्रताका साथ काम भइरहेको खनालको भनाइ छ । दाउन्ने उकालो र ओरालोमा मात्र १५ किलोमिटर पर्छ ।
सडकलाई २ लेनबाट ४ र ६ लेनमा विस्तार गर्न ६ वर्षअघि २०७५ मा काम थालिएको थियो । त्यसयता यात्रुले सास्ती खेप्दै आएका छन् ।
एसियाली विकास बैंकको वित्तीय सहायतामा स्तरोन्नति भइरहेको हो ।
यस सडकमा २४सै घण्टा गाडीको चाप हुन्छ । सडकमा दैनिक साना–ठूला गरी १० हजार सवारीसाधन ओहोर–दोहोर गर्छन् ।
घाटा भएको कारण देखाउँदै वर्षायाम शुरू हुनुपूर्वदेखि निर्माण कम्पनीले काम रोकेको थियो । निरन्तरको दबाबपछि अहिले देखिने गरी काम गरिरहेको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डकी प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर अनुक्षा घिमिरेले बताइन् ।
‘अहिले अरुणखोलाको ठूलो पुल निर्माणदेखि कालोपत्रेको काम धमाधम भइरहेको छ । दाउन्ने खण्डबाहेक अन्यत्र अबको बर्खाअघि एकतर्फी रूपमा बुटवलदेखि गैंडाकोटसम्म जोडछौं भनेर काम गरिरहेका छन् । कामको गति हेर्दा पनि त्यो सम्भवजस्तो देखिन्छ, हेरौं के हुन्छ,’ उनले भनिन् ।
दाउन्ने खण्डमा कटिङ, कल्भर्ट निर्माण र वाल निर्माणको काम भइरहेको छ । नारायणगढ–दाउन्ने खण्ड पहिलो प्याकेज ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजमा ४९ किलोमिटर पर्छ ।
नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी बेचनकुमार भण्डारीले बर्दघाटदेखि बुटवलसम्म तीव्रताका साथ काम भइरहेको बताए । ‘हामी पनि दाउन्ने सेक्सनबाहेक अन्यत्र असारसम्ममा एकतर्फी पिच सक्छौं,’ उनले लोकान्तरसँग भने, ‘अहिलेसम्म ४९ किलोमिटरमध्ये २५ किलोमिटर पिच सडकमा गाडी गुड्न पाउँछन् । अहिलेसम्म हाम्रो ४० किलोमिटर पिच सकिएको छ ।’
बर्दघाट, खैरेनी, सुनवल, बुटवल, भलुही सबै खण्डमा कतै कालोपत्रे, कतै कालोपत्रेको तयारीको काम भइरहेको उनले बताए ।
चालू आर्थिक वर्षमा पुल र कल्भर्टबाहेक २ लेनको सडक दाउन्नेसम्म बन्नेछ । दाउन्ने क्षेत्रमा १०३ वटा ठूला कल्भर्ट बनाउनुपर्ने हुन्छ । जसमध्ये धेरैजसो काम सकिएको छ । पश्चिम खण्डको दाउन्ने क्षेत्र ९ किलोमिटर पर्छ ।
चाइना कर्पोरेसनले १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा ६ वर्षअघि ठेक्का लिएर निर्माण शुरू गरेको थियो । वि.सं. २०७९ साउन २२ गतेभित्र सक्ने गरी २०७५ चैतमा ८ मा ठेक्का लगाइएको थियो ।
सरकारले सडकको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक थप गरेको छ । तेस्रोपटक थपिएको म्याद अनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने हुन्छ । अहिलेसम्म भौतिक प्रगति ५८ प्रतिशत छ । कम्तीमा अझै एकपटक म्याद थप गर्नुपर्ने देखिन्छ ।
यो खण्डमा रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्लाका गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयीत्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलसहित दर्जन बढी पालिका तथा बस्तीहरू जोडिएका छन् ।
चितवनको नारायणगढ र रुपन्देहीको बुटवललाई जोड्ने यो प्रतिघण्टा ८० किलोमिटरको ‘हाई स्पीड’ सडक हो । ३ वर्षभित्र काम सक्ने भनेर वि.सं. २०७५ चैतमा प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।
११४ किमी सडकमध्ये ७० किमी ४ लेन, २९ किमीबीचमा ४ लेन तथा दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन अनि पहाडी भेग र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किमी खण्डमा ३ लेनको सडक बनाउने सम्झौतामा उल्लेख छ ।
चितवनको सौराहाबाट लुम्बिनी जोड्ने सडकको बेहाल भएपनि रुपन्देहीका पर्यटन व्यवसायी आशावादी छन् । यस्ता सडक निर्माण र विस्तारको काम छिटो सकिए भविष्यमा बुटवल यात्रा सहज र छिटो हुने हुँदा पर्यटकको संख्या पनि बढ्ने उनीहरूको अपेक्षा छ । बुटवल–गोरुसिंगे सडक पनि चार लेनमा विस्तारले गति लिएको छ ।
+ There are no comments
Add yours