२१ फागुन, विराटनगर । नेकपा (एमाले) मोरङको १०औं अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुधबार बिहानदेखि मतदान भइरहेको छ ।
१७ फागुनबाट सुरु जिल्ला अधिवेशन साेमबार सक्ने लक्ष्य थियाे । तर, नयाँ नेतृत्व चयनका प्रक्रिया लम्बिएका कारण आज मतदान भएकाे हाे ।
१६५ सदस्यीय नयाँ जिल्ला कमिटी मध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारीसहित ९४ जनाका लागि मतदान भइरहेको हो । चुनावी मैदानमा १९१ जना छन् ।
जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।
इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट छन् ।संस्थापन समूहको नेतृत्व एमाले उपाध्यक्ष गुरु बरालले गरिरहेका छन् । यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे छन् ।
नयाँ नेतृत्वका लागि ९ सय ११ प्रतिनिधि मतदाता छन् । मतदानपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुनेछ ।
+ There are no comments
Add yours