२० फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मंगलबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएका कारण कुनै सम्भावना नरहेको जिकिर गरे ।
‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ,’ खनालले भने, ‘इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ ।’
एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताउँदै खनालले राष्ट्रियतामाथि खतरा बढेको पनि बताए ।
‘आज राष्ट्रियतामाथि खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन, अरु पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् ?,’ खनालको प्रश्न छ ।
फरक प्रसंगमा खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाए । जसको पछिल्लो उदाहरण कही समय अघि जारी भएको अध्यादेश रहेको पनि बताए ।
संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानुनहरू सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानुन बनाउने कुरामा कसैको पनि अवरोध नगरेको बताए ।
‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाईको सरकार भारी बर्कम सरकार भएपनि अनेक संकट पोका बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश पनि हो,’ उनले भने ।
खनालले अघि थपे, ‘अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा ? जब कि संविधान अनुरुप कुनैपनि ऐनहरू सामान्य रुपले बनाउन सकिन्छ । सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन ।’
प्रक्रियाकै हिसाबले पनि आफ्नो पार्टीको संसदीय दलले अध्यादेशलाई समर्थन नगर्ने उनले प्रष्ट पारे ।
+ There are no comments
Add yours