कम्पनी प्रशासन डिजिटलमा, कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रकृयाहरू अनलाइनबाट

२० फागुन, काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीका सबै प्रणालीहरू कार्यान्वयनमा ल्याएको छ। जसको प्रयोगबाट भौतिक रूपमा कार्यालयमा उपस्थित नभइकन कम्पनी दर्ता देखि खारेजीसम्मका सम्पूर्ण प्रकृयाहरू सम्पन्न गर्न सकिने छ । कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदनहरू प्रणालीवाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहवाट नै टुङ्गो लगाइने व्यवस्था मिलाइएको छ ।

उक्त प्रणालीले सम्बन्धित शेयरधनी, सञ्चालक वा निवेदक पक्षको सनाखत लगायत भौतिक उपस्थितिवाट चेकजाँच गर्न आवश्यक पर्ने प्रकृतिका आवेदनहरू वाहेक अन्य सबै आवेदनहरू अनलाईन प्रणालीवाटै टुङ्गो लगाइ सो सम्बन्धी पत्र, विवरण लगायत कागजातहरू डिजिटल हस्ताक्षर गरी सम्बन्धित कम्पनीको अनलाईन अकाउन्टमा स्वचालित रूपमा पठाइ कम्पनी प्रशासनको कार्यलाई थप सहज र सरल बनाउने छ ।

साथै, आवेदन पेश भएपश्चात् कम्पनी रजिष्ट्रार कार्यालयमा तोकिएको कर्मचारी र तत्पश्चात् सो विषयमा अनलाईन प्रणालीवाटै सम्बन्धित कम्पनीलाई सूचना दिइने तथा साविकमा सञ्चालनमा रहेको प्रणालीका सम्पूर्ण निवेदन तथा कागजातहरू सम्बन्धित कम्पनीले प्रणालीमा नै हेर्न सक्ने व्यवस्था समेत मिलाइएको छ ।

यस प्रणालीमा नागरिकता लगायत व्यक्तिगत विवरणका लागि राष्ट्रिय परिचयपत्र प्रणाली, करदाताको स्थायी लेखा नम्बर लिने लगायतका कार्यका लागि एकीकृत कर प्रणाली तथा लेखापरीक्षकको विवरणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रणालीसँग आवद्ध गरी कम्पनीले सम्बन्धित विवरण प्राप्त गर्न सक्ने गरी प्रावधान राखिएको छ । यसैगरी अन्य सरकारी प्रणालीहरूसँग आवद्ध गरी सूचनाको सहज प्राप्ति र भेरिफिकेशनको प्रबन्ध गर्दै लगिने छ ।

यस प्रणालीको कार्यान्वयनबाट कम्पनी प्रशासन सम्बन्धी कामका लागि निरन्तर कम्पनी रजिष्ट्रारको कार्यालयमा धाउनु पर्ने विद्यमान अवस्था हटी सेवाग्राहीहरूको समयको सदुपयोग हुने विश्वास लिइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours