अन्तर्राष्ट्रिय नाट्य महोत्सव पोखरा, भरतपुर र बेलबारीमा पनि

१८ फागुन, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करण काठमाडौंसहित पोखरा, भरतपुर र बेलबारीमा पनि आयोजना हुने भएको छ । आयोजक मण्डला थिएटरले राजधानीबाहिर पनि महोत्सवलाई आयोजना गर्न लागेको जनाएको छ ।

काठमाडौंस्थित मण्डला थिएटरमा चैत ६ देखि १२ सम्म महोत्सव हुनेछ । पोखरा थिएटरको आयोजनामा चैत ८ देखि १२ सम्म गैह्रपाटनस्थित नाटक घरमा पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुनेछ ।

कर्मी चौतारी नाट्य समूहको आयोजनामा चैत १० देखि १२ सम्म नारायणी कला मन्दिर भरतपुरमा चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुनेछ ।

सिर्जना घर बेलबारीको आयोजनामा बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ११ देखि १२ गतेसम्म बेलबारी मोरङमा हुनेछ । महोत्सव संयोजक केदार श्रेष्ठले ती ३ थलोमा समानान्तर नाट्य महोत्सव आयोजना हुन लागेको बताए ।

निटफेस्टको सहकार्यमा ३ सहरमा पनि महोत्सव हुने जनाइएको छ । चैत १४ गते पर्ने विश्व रंगमंच दिवसको दिनसम्म महोत्सव हुनेछ । ‘गाउँ गाउँमा सिंहदरबार भनेजस्तै अब गाउँ गाउँमा कला साहित्य लैजानुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यसकारण उपत्यकाबाहिर पनि महोत्सवको तयारी छ’ संयोजक श्रेष्ठले भने ।

काठमाडौंमा हुने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा १० देशका नाटक मंचन हुनेछन् । यससँगै कार्यशाला, छलफल सत्र, ओपन एयर पर्फमेन्स, रैथाने सांगीतिक प्रस्तुति पनि संचालन हुनेछन् ।

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च : रैथाने ज्ञानको उज्यालो’ भन्ने नारासहित निटफेस्टको तेस्रो संस्करण आयोजना हुन लागेको हो । महोत्सवको लाइनअप बुधबारसम्म सार्वजनिक गर्ने तयारी छ । महोत्सव निर्देशकमा अभिनेता दयाहाङ राई हुनेछन् । संयोजक श्रेष्ठका अनुसार महोत्सवमा झण्डै १०० विदेशी नाट्यकर्मी सहभागि हुन आउनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours