दुनियाँकै ठूलो फिल्म सिटी, जहाँ बन्छन् सुपर–डुपर सिनेमा

हैदरावादबाट फर्केपछि

राधा खनाल

१७ फागुन, काठमाडौँ । बेला यस्तो पनि थियो रामायण/महाभारतजस्ता टेलिसिरिज प्रसारण हुंँदा ‘भगवान्को साक्षात् दर्शन’ पाएको भन्दै टेलिभिजनकै पूजा गरिन्थ्यो। चर्चित बाहुबली फिल्मको ‘सेट’ ले त सबैलाई चकित बनाएकै हो। त्यति भव्य माहिष्मति साम्राज्य कहाँ होला ? बाहुबली फिल्मका दुवै भाग हेर्ने हरेक दर्शकको मनमा खुल्दुली जाग्छ नै। हो, आज, तिनै बहुचर्चित टेलिसिरिजदेखि फिल्म छायांकन भएको स्थानको चर्चा गर्दैछौं। जहाँ पुग्ने जो कोहीले आफूलाई कुनै न कुनै फिल्म÷सिरिजको एउटा पात्रका रूपमा अनुभव गर्छन्। 

छिमेकी भारतको रामोजी फिल्म सिटी एउटा सपनाको सहर हो। विश्वभरि निकै रुचाइएका विश्वकै महँगा फिल्म÷टेलिसिरिज त्यहीँ सुटिङ भएका हुन्। अर्थात्, जुन सहरले विपनामै बलिउडलाई एकसे एक सुपरहिट चलचित्र दिन सफल भएको छ। त्योसँगै देशको आर्थिक क्षेत्रमा पनि विशेष योगदान गरेको छ। पर्यटकबाट मात्र उक्त फिल्म सिटीले अर्बौंको आम्दानी गरिरहेको छ। फिल्म सिटी अधिकारीहरूका अनुसार वार्षिक ३ सयदेखि ४ सय करोड आम्दानी हुने गरेको छ। विशेषतः आईटी, बिर्यानी, मोती, हीरा र सुनका गहना पारखीका लागि निकै चर्चित सहर हैदराबाद पछिल्ला दिनमा भने रामोजी फिल्म सिटीका नामले नै चिनिन थालेको छ। अझैभन्दा हैदराबादको अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरेको छ।

लाखौं अभिनेता र कलाकारको सपना रहेको यो फिल्म सिटीभित्र प्रवेश गर्दा सपनाको संसारमा पुगेझैं महसुस हुन्छ। विश्वभरि निकै रुचाइएका विश्वकै महँगा फिल्महरू निर्माण भएको थलोमा पुग्दा पर्दामा हेरिने झिलिमिली दृश्य आँखैअगाडि नाच्न थाल्छन्। त्रेता र द्वापरकालमा महाराज दशरथ र जनकको मन्त्रिमण्डलको बैठकजस्ता हुन्थे, त्यहाँ कल्पनाअनुसार भव्य सेट सजाइएका छन्। तर त्यहाँ वास्तविक मान्छे नभई दरबारहरूमा कलाकारहरूको साटो प्रतिमा सजाइएका छन्।

रामोजीको गेटभित्र छिर्नेबित्तिकै रंगीबिरंगी फूलहरू फुलिरहेका देखिन्छन्। क्षेत्रफलका हिसाबले विश्वकै सबैभन्दा ठूलो फिल्म सिटी रामोजी फिल्म सिटी मानिन्छ। धेरै क्षेत्रफल ओगटेको भनेर गिनिज बुकमा पनि ‘वल्र्ड रेकर्ड’ बनाइसकेको उक्त फिल्म सिटी तेलंगाना राज्यको राजधानी हैदराबाद देखि २५ किलोमिटरको दूरीमा रहेको नल्गोडामा छ।

यो फिल्म स्टुडियो २ हजार एकड यानेकी ८.२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। उक्त फिल्म सिटीका एक कर्मचारीका अनुसार स्टुडियो भित्र ५० सुटिङ फ्लोरहरू छन्। १९९६ मा तेलुगुकै मिडियाकर्मी भनेर चिनिएका रामोजी रावले स्थापना गरेका हुन्।

बलिउडका चर्चित अभिनेता डेभिड धवनले निर्माण गरेको चलचित्र ‘बडे मिया, छोटे मिया’को छायांकनस्थल पनि यही नै हो। अभिनेत्री विद्या बालनको सुपरहिट चलचित्र ‘डर्टी पिक्चर’का गीतहरू रेकर्ड गरिएको सुन्दर बगैंचाहरूमा उनकै कल्पना गरी तस्बिर खिच्नेको भिड हुने गर्छ।

उक्त ठाउँमा एकैपटक २५ फिल्मको सुटिङ हुने गरेको छ। उक्त स्टुडियोका सहव्यवस्थापक राजेश सागीका अनुसार फिल्ममा आरएफसीमा फिल्मको प्रिप्रोडक्शनदेखि पोस्ट प्रोडक्सनसम्मका सबै सुविधा उपलब्ध छन्। उनी भन्छन्, ‘हाम्रो स्टुडियोको एउटा मान्यता के छ भने फिल्मको आइडिया लिएर आउनुस् र फिल्म लिएर जानुस्। त्यसो त यो फिल्म सिटी, फिल्म सिटीमा मात्रै सिमित छैन। एउटा पर्यटन केन्द्र पनि हो। कलाकारको अभिनयमात्र नभई सेटको डिजाइन, प्रकाशको कला र क्यामराको चमत्कार सबै कुरा एकै ठाउँमा छ।’ फिल्म सिटीमा प्रत्येक वर्ष करिब १० लाखभन्दा बढी पर्यटक पुग्ने गर्छन्। अर्को रोचक पक्ष भनेको मानव निर्मित आश्चर्यजनक स्थानहरूमा पनि रामोजी फिल्म सिटीलाई राखिएको छ। 

को हुन् रामोजी ? 
रामोजी दक्षिण भारतका राम्रा फिल्म निर्माता हुन्। उनले उषा किरण मुबिज लिमिटेडको नामबाट हिन्दी, मलयालम, तेलुगु, तमिल, कन्नड, मराठी र बंग्ला भाषामा ८० बढी फिल्म बनाएका छन्। रामोजी आपैmं फिल्म निर्माता भएकाले फिल्म निर्माण गर्दाका बखत धेरै कुराहरूको अभाव भोगे। आफूले भोगेका समस्या अरूले भोग्नु नपरोस् भन्नका लागि उनले निजीस्तरबाटै फिल्म सिटी निर्माणको सुरुवात गरे। रामोजीले हिन्दी फिल्मकै परिकल्पनाबमोजिम फिल्म सिटी निर्माण गरेका छन्। त्यसो त भारतमा रामोजी फिल्म सिटीमात्र नभई मुम्बई फिल्म सिटी, एमजीआर फिल्म सिटी, इनोभेटिभ फिल्म सिटी, नोयडा फिल्म सिटी आदि बलिउडका चर्चित र ठूला पाँच फिल्म सिटी हुन्।

  •     शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म चेन्नई एक्सप्रेसका अधिकांश दृश्यको सुटिङ रामोजी फिल्म सिटीमा गरिएको थियो।  
  •     छिमेकी भारतको रामोजी फिल्म सिटी एउटा सपनाको सहर हो। विश्वभरि निकै रुचाइएका विश्वकै महँगा फिल्म÷टेलिसिरिज त्यहीँ सुटिङ भएका हुन्। 
  •     ६ सय दिनको लामो सुटिङपछि निर्माण भएको ‘बाहुबली’को सेटलाई समेत पर्यटकीय गन्तव्यका रूपमा तयार पारिएको छ। 
  •     अभिनेत्री नीता ढुंगानाको निजी कम्पनी नीता फिल्मले निर्माण गरेको फिल्म ‘ह्रस्व—दीर्घ’ पनि ‘रामोजी फिल्म सिटी’ मा छायांकन भएको थियो।

कन्सेप्ट लिएर आउ फिल्म लिएर जाऊ
रामोजी फिल्म सिटीले फिल्म बन्नुअघि र फिल्म बनिसकेपछिका सबै सुविधाहरू उपलब्ध गराउँदै आएको छ। प्राविधिक रूपमा अति नै विकसित सेटहरू र भौगोलिक रूपमा बनाइएका विश्वकै नमुना भौतिक संरचनाहरूले पर्दामा यथार्थलाई उतार्न निर्देशकहरूलाई सघाउँछ। रामोजीभित्र पाँच सयभन्दा बढी सेटहरू छन्। करिब १५ सय जनालाई स्थायी रोजगार दिइएको छ। सयौं उद्यान, ५० भन्दा बढी स्टुडियो फ्लोर, अधिकृत सेट्स, डिजिटल फिल्म निर्माण कि सुविधा, आउटडोर लोकेसन, प्रयोगशालाहरू उपलब्ध छन्।

फिल्ममा चाहिने आधारभूत संरचनाअन्तर्गत गर्ने ड्रेस डिजाइन, मेकअप, सेट निर्माण, साजसज्जा, क्यामरा, फिल्म निर्माण उपकरण, अडियो प्रोडक्सन, डिजिटल पोस्ट प्रोडक्सनहरू उपलब्ध छन्। रामोजी फिल्म सिटीमा एकैसाथ २० विदेशी फिल्म र ४० देशी फिल्महरू बनाउन सकिन्छ। हरेक हप्ताजस्तो विदेशी फिल्मी डाइरेक्टरहरू टोली नै बोकेर आउने गर्छन्। फिल्म सिटीभित्र यात्रा गर्नका लागि बस र एसी कोच बसहरू पनि उपलब्ध हुन्छन्। 

प्रविधि र आधुनिकताको अनुपम संगम 
जापानी गार्डेन, ताल, कृत्रिम खोला, हवाई अड्डा, अस्पताल, रेलवे स्टेसन, चर्च, मस्जिद, मंदिर, सपिङ मल, पहाड, गाउँका गरिब बस्ती, मसानघाट, सुकुम्बासीबस्तीदेखि लिएर राजा, महाराजाका अद्भुत दरबार छन्। कुनै सेटहरूले भारतका प्राचीन राजा, महाराजाका महलको आभास दिन्छन्। 

हिन्दी सिनेमामा देखाइने हाइवेका दृश्यहरू छायांकन गर्न बनाइएका ठूल्ठूला सडकमा घुम्दा हाइवेमै पुगेजस्तो अनुभव हुन्छ। शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म चेन्नई एक्सप्रेसका अधिकांश सुटिङ त्यहाँ भएका छन्। दीपिकालाई बोकेर मन्दिरका सिँढी भएका मन्दिर पनि त्यहाँ जस्ताको त्यस्तै छन्। गुफाहरूलगायत फिल्म निर्माणका लागि चाहिने सबै भौतिक पूर्वाधार उपलब्ध फिल्म सिटी अद्भुत छ। प्रविधि र आधुनिकताको अनुपम संगम रहेको छ रामोजी फिल्म सिटी।

मुख्य आकर्षण बाहुबली सेट
६ सय दिनको लामो सुटिङपछि निर्माण भएको ‘बाहुबली’को सेटलाई समेत पर्यटकीय गन्तव्यका रूपमा तयार पारिएको छ। अहिले मुख्य आकर्षणको केन्द्रनै बाहुबली सेट बनेको छ। फिल्मका हिरो प्रभास शिवगामिनी देवीको भव्य दरबारमा तरबार नचाउँदै गरेको देखिन्छ। अनुहारमा आक्रोशसँगै विजयको प्यास पनि देखिन्छ। सेटभित्र प्रवेश गर्दै गर्दा बाहुबली फिल्मको गीत बज्न थाल्छ।

सेट यति भव्य छ कि वास्तविक दरबारजस्तै लाग्छ। युद्धको तयारी हुनै लागेको जस्तो देखिन्छ। कतै आफैं पनि फिल्मको पात्र हुँ कि भन्ने आभास हुन्छ। बाहुबलीका विभिन्न सेटमा तस्बिर लिनेको ताँती पनि उत्तिकै हुने गर्छ। यसो हेर्दा लाग्छ एउटै सेटमा फिल्मको सम्पूर्ण कुराहरूले न्याय पाएको छ। 

हनिमुनमा जानेलाई विशेष प्याकेज 

फिल्म सिटीभित्र व्यापार प्रवद्र्धनका लागि दर्जनौं कर्पोरेट हाउसहरू निर्माण गरिएका छन्। त्यहाँ घुम्न पुग्ने पर्यटकको सेवासुविधालाई ध्यानमा राखेर व्यवस्थित होटल र मलहरूसमेत उपलब्ध छन। फिल्म सिटीभित्रै ४, ५ वटा तारेहोटल छन्। फिल्म सिटीले नवविवाहित जोडीका लागि हनिमुन प्याकेज पनि दिँदै आएको छ। पूरै फिल्म सिटीलाई राम्ररी अवलोकन गर्न चाहने पर्यटकहरू यहाँ होटेल बुक गरी फिल्मी दुनियाँको अनुभव लिने गर्छन्। 

नेपाली फिल्म ‘ह्रस्व—दीर्घ’ भयो पहिलो सुटिङ रामोजीमा अभिनेत्री नीता ढुंगानाको निजी कम्पनी नीता फिल्मले निर्माण गरेको फिल्म ‘ह्रस्व —दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’ मा छायांकन भएको थियो। उक्त फिल्म नै रामोजीमा सुटिङ भएको पहिलो नेपाली सिनेमा हो। 

कलिउड फिल्म सिटी त गफमै सीमित 

रामोजी सिटीमा पुग्ने जो कोही नेपालीको मनमा खटकन्छ– हाम्रो देशमा यस्तो फिल्म सुटिङस्थल कहिले बन्ला ? हुन त, नेपालमा गतिलो स्टुडियोसमेत छैन। बालाजुको एनएफडीसी र बूढानीलकण्ठमा रहेको महजोडीको मह स्टुडियोमात्रै हुन्। यी पनि नाममात्रैका स्टुडियो भएको स्वयं चलचित्रकर्मीहरू बताउँछन्। दोलखामा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बनाउने घोषणा भएको वर्षाैं भयो। तर गफमै सीमित छ। त्यो बन्न अझै कति समय लाग्ने हो ? अन्योल नै छ। चालु आर्थिक वर्षमा त उक्त फिल्म सिटीका लागि सरकारले बजेटसमेत छुट्ट्याएको छैन। 

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले समुद्री सतहबाट ३ हजार ३३ सय मिटर उचाइमा उत्तर पूर्वमा गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माणको शिलान्यास गरेका थिए। राजधानीदेखि १ सय १० किलोमिटरमात्रै टाढा फिल्म सिटी बन्ने घोषणाले फिल्मकर्मी उत्तिकै खुसी बनेका थिए। नेपाली फिल्म निर्मातालाई मात्र हैन, विदेशीलाई समेत लक्षित गरी आवास गृहसहित चलचित्र छायांकनका लागि ‘आउटडोर’ र ‘इनडोर’ संरचना निर्माण गर्ने परियोजना बनाइएको थियो। 

परियोजनामा फिल्म सिटीभित्र विमानस्थल, पाँचतारे होटल आदि छन्। सेतीदेवी सामुदायिक वनको १५ सय रोपनी क्षेत्रफलमा फिल्म सिटी निर्माण हुने बताइएको छ। परियोजनामै निर्माण अविध ५ देखि १० वर्ष भनिएको थियो। १० वर्षमा पनि यो बनिसक्छ या सक्दैन निश्चित छैन। निजी क्षेत्रबाट पनि अहिलेसम्म फिल्म सिटी बनेको छैन। दोलखावासीको आर्थिक जीवनोस्तर बढाउनका लागि एउटा बलियो हतियार बन्न सक्ने फिल्म सिटीको सपना देखाउने मात्र काम भएको फिल्म सिटी निर्माण क्षेत्रका वडाध्यक्ष हिमाल श्रेष्ठले बताए।

उनले भने, ‘अन्तर्राष्ट्रिय फिल्म नगरी बन्ने भनेर १०, १५ वर्ष अगाडिदेखि भनिएको छ। नेपाल सरकारले छुट्ट्याएको थोरैथोरै बजेटले केही अंश काम मात्र अगाडि बढेको थियो। अहिले त बजेटको अभावमा कामै रोकिएको छ।’ सरकारले सक्दैन भने अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत लगानी गर्न इच्छा जाहेर भएकाले सरकारले त्यसका लागि पहल गर्नुपर्ने उनले बताए। 
‘चीन, स्विट्जरल्यान्ड र मौरिससजस्ता देशहरूले चासो देखाएका छन्,’ उनले भने, ‘सरकारले सक्दैन भने ती देशलाई जिम्मा दिनुप¥यो। विकासको लागि देश र सम्बन्धित क्षेत्रका व्यक्तिहरू नै बाधक बन्नु भएन।’ बलिउडमा दर्जनौं फिल्म सिटी हुँदा नेपालमा भने एउटा पनि छैन। आधा शताब्दी लामो इतिहास बोकिसकेको नेपाली चलचित्र उद्योग अझै पूर्ण विकास हुन सकेको छैन भन्ने कुराको तथ्य यो पनि एउटा हो। 

नेपालमा न्यून बजेटमा चलचित्र निर्माण हुनु नै फिल्म सिटी नबन्नुको मुख्य कारण रहेको बुझिन्छ। सानो बजेटमा बन्ने चलचित्रले फिल्म सिटी नै भए पनि सेट लगाउन नसक्ने चलचित्रका व्यक्तिहरू बताउँछन्।  एक चलचित्र निर्देशक भन्छन्, ‘इन्डियामा एउटै चलचित्रले करोडौंको सुटिङ सेट लगाउँछन्। हाम्रोमा एक करोडमा त चलचित्र बन्छन्। नेपालमा ५० हजारदेखि एक लाखमा सेट तयार हुन्छ। यो अवस्थामा कस्तो फिल्म सिटीमा लगानी गर्ने हो ? बलिउडमा एउटा आइटम गीत सुटिङ गर्न ५ देखि ७ दिन लगाउँछन् भने १०–१५ करोड एउटा गीतमा मात्रै खर्च हुने गरेको छ।’

त्यसो त फिल्म सिटी बनाउने चर्चा दोलखामा मात्र हैन। कास्कीको धिताल गाउँमा फिल्म सिटी बनाउने घोषणा भएको थियो। फिल्मकर्मी उदय सुब्बाको संयोजकत्वमा निर्माण समिति बनाइयो। स्टुडियो निर्माणका लागि सरकारसमक्ष दुई अर्ब बजेट पनि माग भयो। तर त्यो विषय राजनीतिको सिकारमा पर्यो। 

यो परियोजनाबाट पछि हट्नु हुँदैन 

दोलखामा फिल्म सिटीका लागि वरिष्ठ कलाकार तथा अभियन्ता मदनदास श्रेष्ठको संयोजकत्वमा निर्माण समिति बन्यो। सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनका कामबाहेक अरू ठोस उपलब्धि भएन। १२ करोड ४२ लाखको साढे ६ किलोमिटर कालोपत्रे सडकको टेन्डर भई काम सम्पन्न हुने अवस्थामा छ। खानेपानीको पाइप बिछ्याई सकिएको छ। विद्युतीकरणको कार्य भइसकेको छ। भवन तथा सहरी विकास कार्यालयले आवास र शौचालय निर्माण गरेको छ। दोलखा फिल्म सिटीका अभियन्ता श्रेष्ठ भन्छन्, ‘ठूलो रकम खर्च भइसकेको दोलखाको फिल्म सिटी परियोजनामा फेरि अन्योलको अवस्था आयो।’ उनका अनुसार २०६५ सालमै यो विषय अगाडि बढेको हो।

‘स्थानीय दलका नेता र जनताले १५ सय रोपनी जग्गा उपलब्ध गराएका हुन्,’ उनले भने, ‘सरकार र चलचित्र बोर्डसँगै स्थानीयले अन्तर्राष्ट्रिय चलचित्र नगरी बनाउने भनेर संसद्बाटै जग्गा उपलब्ध गराइयो। त्यतिबेलै अर्थ मन्त्रालयले एक करोड रुपैयाँ सम्भाव्यता अध्ययनका लागि छुट्ट्यायो। सबै विज्ञहरूले उक्त स्थान फिल्म सिटीका लागि योग्य छ भनेका थिए।’ मुख्य कुरा चलचित्र विकास बोर्ड भने सुरुवाती दिनदेखि सुस्त थियो। ‘प्रशासनिक भवन, सांस्कृतिक संग्रहालय भवन, गेस्ट हाउस र क्याफ्टेरिया बनेका छन्। ३० देखि ३५ करोड खर्च भइसकेको छ। अब यो परियोजनाबाट पछि हट्नु न्यायोचित हुँदैन भन्ने लाग्छ,’ उनले भने। अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चीन, मौरिससले त्यहाँ लगानी गर्न इच्छा देखाएका थिए। 

नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार दोलखाको फिल्म सिटीका लागि अर्बौंको बजेट चाहिन्छ। त्यसअनुसार खर्च गर्ने क्षमता हाम्रो छैन। घटीमा १६ अर्ब र बढीमा ३२ अर्बको बजेट लाग्ने भनिएको छ। बलिहुड र हलिहुडको देख्दा त्यो रकम ठीकै होला। तर हाम्रो नेपाली उद्योग त सानो छ। त्यसमा कसले इन्भेस्ट गर्ने ? निजी क्षेत्र अथवा सरकारले गर्ने कि नगर्ने ? यी कुराको तय भएको छैन। यति ठूलो रकम छुट्ट्याउने अवस्था छैन।

अर्को इन्डोर फिल्म सिटी बनेपामा बन्दै छ। जसको लागि ४२ रोपनी जग्गा प्राप्ति भएको छ। उक्त स्थानका लागि टेन्डर आह्वान गरेका छौं। यसको ६ वर्ष अगाडि गरिएको अनुमानित बजेट ३८ करोड छ। फिल्म निर्देशक तथा निर्माता केशव भट्टराईको पालामा सुरु भएको हो। त्यसपछि दयाराम दाहालको पालामा कोसिस भयो। भुवन केसीले पनि यसमा के गर्न सकिन्छ भनेर प्रयास गरेका थिए। डीसीको पालामा प्रक्रिया अगाडि बढेको छ। चार किल्ला मापन गरेर टेन्डरको काम भइसकेको छ। 

‘यो नेपालको इन्डोर स्टुडियो मध्येमा सबैभन्दा ठूलो कबर्ड हल बन्छ,’ डीसीले भने, ‘धुलिखेल नगरपालिकाबाट १३ सय किलोमिटर क्षेत्र लिएका छौं। विदेशमा देखिने दृश्यहरू हामी त्यो क्षेत्रमा निर्माण गर्नेछौं।’ अन्तर्राष्ट्रिय लगानीकर्ता आएमात्रै दोलखामा फिल्म सिटी बन्ने डीसीले बताए। ‘कम्तीमा चारतारे स्टार होटलदेखि एउटा गाउ“ नै स्थापना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘नबन्ने हैन, कुनै पुस्तामा गएर बन्न सक्छ।’

अन्‍नपूर्ण

You May Also Like

More From Author

+ There are no comments

Add yours