१५ फागुन, काठमाडाैं । मानिस सामाजिक प्राणी हो । यसको अर्थ ऊ एक्लै आफ्नो जीवन बिताउन सक्दैन। एक-अर्कासँग घुलमिल हुनु, उनीहरूसँग समय बिताउनु, पार्टी गर्नु र सँगै उत्सव मनाउनु मानवीय गुण हो अनि हाम्रो आवश्यकता पनि।
यसको विपरीत, यदि कोही एक्लै बस्छ, सामाजमा घुलमिल हुन खोज्दैन । र, समय बिताउन कोही छैन भने यो एक प्रमुख समस्या मानिन्छ। यस्तोमा मानसिक समस्या हो कि भनेर हेरिन्छ । विश्वकै अभ्यास हेर्ने हो भने एक्लोपनलाई सजायको रूपमा प्रयोग गरिएको छ।
प्राय जेलमा गल्ती गर्नेहरूलाई एकान्त काराबासमा राखिन्छ। मानसिक समस्या भएका कतिपयलाई एक्लै राखिन्छ । कसैलाई त साङ्लोले बाँधेरै राखिन्छ । कयौँ देशमा एक्लोपनलाई रोगको दर्जा दिइँदैछ। एक्लोपनसँग जुध्ने मानिसहरूलाई मनोवैज्ञानिक परामर्श दिइँदैछ ।
त्यसोभए, के एक्लोपन साँच्चै त्यति खतरनाक छ ?
एक्लै बस्न मनपराउनेहरू प्राय यसको जवाफ ‘होइन’ भन्न रुचाउँछन्। उनीहरूलाई पार्टी, कुनै जमघट वा उत्सवमा भाग लिनु पर्यो भने तनाव हुन्छ ।त्यस्ता ठाउँमा जान मन गर्दैनन्। मानिसहरूलाई भेट्नबाट सकेसम्म जोगिन्छन्।
प्राय यस्तो समस्या सामाजिक समारोहमा घुलमिल हुने बानी नपरेकालाई हुन्छ । कतिपयको भने स्वभाव नै त्यस्तो हुन्छ । यस्तो बानी छ भन्दैमा जोखिमपूर्ण भनिहाल्न मिल्दैन।
एक्लै बस्दा के फाइदा हुन्छ ?
एक्लोपनको फाइदाबारे वकालत गर्ने पनि धेरै छन् । उदारहणका लागि, भारतीय अभिनेत्री कंगना रनौतले एक अन्तर्वार्तामा भनेकी छिन, ‘एक्लै बस्ने मेरो सबैभन्दा ठूलो रुचि हो । मलाई मानिसहरूको जमघट मन लाग्दैन । मलाई कसैसँग भेट्न पर्यो भने कठिन कार्य लाग्छ ।’
अमेरिकी लेखिका एनेली रुफसले ‘पार्टी अफ वानः द लोनर्स म्यानिफेस्टो’ नामक पुस्तकमा यसबारे लेखेकी छिन्। उनी भन्छिन्-एक्लै बस्नुका फाइदा धेरै छन् । यसरी बस्दा ध्यान केन्द्रित गर्ने समय मिल्छ । आफ्नो सिर्जनशील क्षमता बढ्छ । मानिसहरूलाई भेटेर बेकारको कुराकानी वा झूटा मजाकमा संलग्न हुनुभन्दा एक्लै समय बिताउनु राम्रो हो।
यता, ब्रिटिश रोयल कलेज अफ जनरल प्र्याक्टिसनर्सले एक्लोपन मधुमेहजस्तै खतरनाक रोग भएको बताएको छ। यसले मधुमेहले जत्तिकै मृत्यु निम्त्याउने दावी गरिएको छ। एक्लोपनले हाम्रो सोच्ने र बुझ्ने क्षमतालाई कमजोर बनाउँछ। एक्लो हुनुले हाम्रो मस्तिष्कमा नराम्रो असर पार्छ। रोगसँग लड्ने क्षमता घट्छ।
एक्लै बस्दा रचनात्मकता बढ्छ ?
यदि दिनको एक घण्टा एक्लै बस्नु फाइदाजनक हुनसक्छ । एक्लै बसेर कुनै कुराको विचार गर्ने हो, वा कामको योजना गर्ने हो भने धेरै फाइदाजनक हुनसक्छ। आफूसँग समय बिताउनाले तपाईंको रचनात्मकतालाई ठूलो प्रोत्साहन मिल्छ। यसले आत्मविश्वास बढाउँछ। स्वतन्त्र सोचको जन्म हुन्छ।
एक्लै समय बित्दा दिमागले शान्तिका क्षणहरूको सदुपयोग गर्छ। कोलहालबाट टाढा एक्लै बस्दा दिमागले सोच्ने र बुझ्ने शक्तिलाई बलियो बनाउँछ। पुराना कुराहरूको बारेमा सोचेर आफ्नो स्मरणशक्तिलाई बलियो बन्छ । कुनै महत्वपूर्ण कुरा बिर्सिएको छ भने पनि याद हुन्छ ।
मानिसहरू किन एक्लै बस्न चाहन्छन् ?
मानिसहरू तीन कारणले गर्दा सामाजिकीकरणबाट टाढा रहन्छन्। केही मानिसहरू लजालु हुन्छन्। त्यसैले, अरूलाई भेट्नबाट सकेसम्म जोगिन्छन् । साथै, केही मानिसहरू पार्टीहरूमा जान मन पराउँदैनन्। केही मानिसहरू यस्ता हुन्छन् जो मिलनसार भए पनि एक्लै केही समय बिताउन मन पराउँछन्।
एक्लै बस्न मन पराउनेहरूको रचनात्मकतामा सुधार हुन्छ। जब एक्लै हुन्छन्, तिनीहरू आफ्नो काममा बढी ध्यान केन्द्रित गर्न सक्षम हुन्छन्। आफ्नो सुधारमा ध्यान केन्द्रित गर्न सक्षम भइन्छ । फलस्वरूप, सिर्जनात्मकता बढ्छ।
अध्यात्म र धर्ममा एक्लोपनको महत्व
एक्लोपनका फाइदाबारे विज्ञानले मात्र होइन अध्यात्म तथा धर्मले पनि एक्लै तप, ध्यान र चिन्तनका लागि सिफारिस गर्छन् ।
एक्लोपन सिर्जनात्मक सोच र आत्म-जागरणका लागि महत्त्वपूर्ण हुन्छ। धेरै महान् विचारक, वैज्ञानिक, र आध्यात्मिक गुरुहरूले एक्लोपनका बेला आफ्नो जीवनका महत्त्वपूर्ण खोज तथा निर्णयहरू गरेका छन्।
हिन्दू धर्मदेखि बौद्ध, इसाई र योगमा समेत धेरै धर्मले मानसिक शुद्धताका लागि एक्लोपनलाई आवश्यक ठानेका छन्। उनीहरू ध्यान, चिन्तन गर्न एक्लै बस्ने र साधना गर्नमा जोड दिन्छन् ।
वास्तवमा, जब हामी एक्लै हुन्छौँ, मन शान्त अवस्थामा पुग्छ। फुर्सदको समयमा आफ्नो स्मरणशक्तिलाई बलियो बनाउन र भावनाहरूलाई राम्रोसँग बुझ्न सकिन्छ ।
कसैसँग भुल्दा ध्यान अन्तै मोडिन्छ। मनले शान्ति पाउँदैन । ध्यान बाहिरी कुरामा केन्द्रित रहन्छ। मस्तिष्क सतही कुरामा अल्झिन्छ, जसले वास्तविक आत्मबोध गर्न कठिन बनाउँछ।
त्यसैले, समय–समयमा एक्लै बसेर आत्मचिन्तन गर्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
यसोभन्दैमा २४ घन्टा नै एक्लो बस्नु भन्न खोजिएको होइन । चिन्ता र पीरमा डुबेको व्यक्ति एक्लोपनको शिकार हुन पनि सक्छन् । त्यसैले, स्वस्थ रहन, मस्तिष्क र मनको सन्तुलन बनाउन सीमित साथीभाइ बनाउनु उचित हुन्छ ।
जति कम हितैषी त्यति गुणस्तरीय समय बिताउन सकिन्छ । हरेक दिन पार्टी गर्ने र भेला आयोजना गर्नुको सट्टा बीचमा केही समय एकान्तमा बिताउन सकिन्छ ।
आफैँमा ध्यान केन्द्रित गर्ने, सोच गहन राख्ने, फुर्सदको समय सिर्जनामा लाग्ने हो भने मानसिक स्वास्थ्य र जीवनगुणस्तर राम्रो हुँदै जान्छ ।
+ There are no comments
Add yours