१४ फागुन, बीबीसी । पछिल्लो समय चर्चामा रहेको अमेरिका र युक्रेनबीचको खनिज सम्झौताका सर्तहरूमा सहमति भएको किएभका एक वरिष्ठ अधिकारीले बीबीसीसँग बताएका छन्।
‘हामीले वास्तवमै केही राम्रा परिमार्जनसहित त्यसमा सहमति जनाएका छौँ र यसलाई सकारात्मक परिणामको रूपमा हेरेका छौँ,’ ती अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने।
सञ्चारमाध्यमहरूमा आएका विवरणका अनुसार अमेरिकाले पाँच खर्ब अमेरिकी डलरबराबरको युक्रेनी प्राकृतिक स्रोतसाधनमा आफ्नो अधिकार दाबी गरेको छ। तर त्यसको बदलामा अमेरिकाले युद्धग्रस्त युक्रेनको प्रमुख चासो रहेको सुरक्षा ग्यारेन्टी सुनिश्चितता गरेको छैन।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की यसैसाता सम्झौतामा हस्ताक्षरका लागि वाशिङ्टन आउने बताएका छन्। यसअघि दुई नेताले एकअर्काको खरो आलोचना गरेका थिए।
सम्झौता हुन लागेको पुष्टि नगरे पनि ट्रम्पले त्यसको बदलामा युक्रेनले ‘लडाइँ जारी राख्ने हक राख्ने’ बताए।
‘उनीहरू निकै साहसी छन्’ू उनले संवाददाताहरूसँग भने। ‘तर अमेरिका, उसको पैसा र सैन्य उपकरणबिना यो युद्ध निकै छोटो समयमै सकिनेवाला थियो।’
युक्रेनमा अमेरिकी अस्त्र र उपकरणको आपूर्ति जारी रहने वा नरहने विषयमा सोधिएको प्रश्नमा उनले भने, ‘हामीले रुससँग सम्झौता नगरेसम्म हुन पनि सक्छ । हामीबीच सम्झौता हुनुपर्छ। नभएसम्म त्यो जारी रहन्छ।’
ट्रम्पले सबैलाई मान्य हुने शान्ति सम्झौतापछि युक्रेनमा ‘कुनै प्रकारको शान्ति स्थापना’ हुनुपर्ने बताएका छन्।
गत साता मात्रै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘निरङ्कुश’ भनेका थिए। उनले युक्रेनमा जारी युद्ध सुरु हुनुमा रुसको सट्टा युक्रेनलाई दोष लगाएका थिए।
युक्रेनका नेताले पाँच खर्ब डलरबराबरको खनिज सम्झौता अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति युक्रेनप्रति चिढिएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि अमेरिकी राष्ट्रपति ट्रम्पलाई रुसी ूदुष्प्रचारबाट प्रभावित भएकोू आरोप लगाएका थिए।
मस्कोले तीन वर्षअघि पूर्ण स्तरको आक्रमण गरेपछि अमेरिकाले गरिरहेको सैन्य र अन्य प्रकारका सहयोगको बदलामा युक्रेनी खनिजमा आफ्नो पहुँचका लागि अमेरिकाले युक्रेनलाई दबाव दिइरहेको छ।
तर जेलेन्स्कीले अमेरिकाले दाबी गरेभन्दा धेरै कम परिमाणको सहयोग आफूले पाएको बताउँदै ‘आफूले देश बेच्न नसक्ने’ टिप्पणी गरेका थिए।
अमेरिकी सहयोगमा सर्तहरू रहने नजिर
युक्रेनी स्रोतहरूका अनुसार अमेरिका केही थप अप्ठ्यारा मागहरूबाट पछि हटेको छ र सम्झौताका अझै कतिपय विस्तृत विवरणहरूमा थप छलफल हुन बाँकी छ।
यद्यपि यसले एउटा नजिर बसाएको छ। ट्रम्पको युगमा दिइने अमेरिकी सहयोगमा सर्तहरू जोडिएका हुन्छन्। चाहे त्यो मानवीय सहायताको सहयोग होस् वा रणनीतिक महत्त्वको।
यसले अमेरिकाले ७५ वर्षभन्दा लामो समय देखि अपनाउँदै आएको विदेश नीतिको पुनर्संरचना प्रतिबिम्बित गर्छ।
युक्रेन त्यसको सुरुआत मात्रै हो। आगामी चार वर्षसम्म ट्रम्प र उनको विदेश नीति हेर्ने टोलीले विश्वभरि नै आफ्नो ‘अमेरिका पहिले’ सिद्धान्त लागु गर्ने अपेक्षा गर्न सकिन्छ।
युक्रेनी समाचार वेबसाइट ‘युक्रेन्स्का प्राभ्दा’ का अनुसार युक्रेनी विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीले खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तय भएको छ।
उक्त समाचारसंस्थाका अनुसार दुई देशबीच पुनर्निर्माण लगानी कोष बनाउने पनि सहमति भएको छ।
यी खनिज जसका लागि भविष्यमा विभिन्न देशबीच चर्को प्रतिस्पर्धा हुन सक्छ
युक्रेनसँग मूल्यवान् खनिजहरूको ठूलो भण्डार छ। यो देशसँग खर्बौँ डलर मूल्य बराबरको लिथिअम तथा टाइटानिअमसँगै उल्लेख्य मात्रामा कोइला, ग्यास, तेल तथा युरेनिअम भण्डारण छ।
गत सेप्टेम्बरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना पश्चिमा साझेदारहरूलाई ‘विजय योजना’ प्रस्तुत गरेका थिए। यसमा उक्त देशका केही खनिजमा युद्धको अन्त्यमा पश्चिमा कम्पनीहरूलाई पहुँच दिइने प्रस्ताव थियो।
युक्रेन र उसका युरोपेली सहयोगी देशहरू पछिल्लो समय अमेरिका र रुसबीच बढ्दो सम्बन्धका कारण सजग भएका छन्। गत साता अमेरिका र रुसबीच साउदी अरेबियाको रियादमा भएको पहिलो प्रत्यक्ष वार्ता भएको थियो।
आफ्नो देशलाई उक्त वार्तामा नडाकिएकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चिन्ता व्यक्त गरेका थिए। उनीसँगै अरू युरोपेली देशहरूले पनि युद्ध अन्त्यका लागि हुने वार्तामा आफूहरूलाई अलग गर्न लागिएको चिन्ता व्यक्त गरिहरेका छन्।
युक्रेनसँग कस्ता खनिज छन् ?
किएभले आफूसँग विश्वमा पाइने पाँच प्रतिशत ‘महत्त्वपूर्ण कच्चा खनिज ’युक्रेनमा रहेको आकलन गरेको छ।
त्यसमा एक करोड ९० लाख टन ग्राफाइट पनि समावेश छ। युक्रेनको भूगर्भ सर्वेक्षण निकायले यो खनिजको आपूर्तिमा युक्रेन ‘विश्वमै प्रमुख पाँच देशमध्ये पर्ने’ बताएको छ।
ग्राफाइट विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याटरी बनाउन प्रयोग हुने गरेको छ।
युक्रेन लिथिअमको भण्डारणमा पनि युरोपमै तेस्रो धनी देश हो। अहिले प्रयोग हुने ब्याटरीहरूमा यो खनिज प्रयोग हुने गरेको छ।
रुसले आक्रमण गर्नुअघि विश्वमा पाइने टाइटानिअम उत्पादनको सात प्रतिशत हिस्सा युक्रेनसँग थियो। टाइटानिअम विमानदेखि ऊर्जा केन्द्रसम्म बनाउन प्रयोग हुने हलुका धातु हो।
यसबाहेक युक्रेनसँग ुरेअर अर्थु भनिने दुर्लभ खनिजहरू पनि छन्। हतियार, वायु टर्बाइन र विद्युतीय उपकरणको निर्माणमा प्रयोग हुने १७ तत्त्वहरूको समूह अहिलेको आधुनिक विश्वमा निकै महत्त्वपूर्ण मानिन्छ।
युक्रेनका कतिपय खनिज भण्डारहरू रुसले कब्जा गरेको छ।
युक्रेनकी अर्थमन्त्री युलिया स्विरिडेन्कोका अनुसार रुसको कब्जामा रहेका क्षेत्रमा ३५९ अर्ब डलर बराबरका स्रोतहरू छन्।
सन् २०२२ मा सेकडेभ नामको एक भूगर्भ जोखिम सम्बन्धी परामर्शदाता निकायले गरेको मूल्याङ्कनमा रुसले युक्रेनको ६३ प्रतिशत कोइला खानी कब्जा गरेको देखिएको थियो। क्यानडाको उक्त निकायका अनुसार रुसले युक्रेनको आधा म्याङ्गनीज, सिजिअम, ट्यान्टलम र रेअर अर्थ भण्डारण आफ्नो कब्जामा लिएको छ।
+ There are no comments
Add yours