पशुपतिमा विजनेश : १५ हजार १ सय रुपैयाँ तिरे पूजा गर्न लाइन बस्‍न नपर्ने

१४ फागुन, काठमाडौं। महाशिवरात्रिको दिनमा पशुपतिनाथमा १५ हजार १ सय रुपैयाँ तिरेर लाइन नबसी विशेष पूजा गर्न व्यवस्था गरिएको छ । १५ हजारभन्दा बढी रकमको विशेष पूजामा लाखबत्ती बाल्न पाइने व्यवस्था छ । यस्तै रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरति र पञ्चामृत पूजा गर्न पाइन्छ ।

शिवरात्रिको दिन विशेष पूजामा सहभागी हुन पशुपतिको पश्चिमपट्टि रहेको एसबीआई बैंकमा १५ हजार १ सयको भौचर काटेर बुझाउनु पर्ने बताइएको छ । विशेष पूजाका लागि यसवर्ष २ सय जनाले मात्र गर्न पाउनेछन् । उनले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीनरतीन र पूर्व र दक्षिण ढोकामा दुईरदुई वटा लाइन रहने प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्री जानकारी दिए । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गरे ।

‘हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ’, संयोजक खत्रीले भने ।

उनले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताए । सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने संयोजक खत्रीले जानकारी दिए । उनका अनुसार नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours