परराष्ट्रमन्त्री डा देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त

१३ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्तामा व्यस्त छिन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा सहभागी हुन् जेनेभा पुगेकी हुन् । सत्रमा सहभागी हुन आएका विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरूसँग साइडलाइन भेटवार्ता गरिरहेकी छन् ।

ती भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपालले संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषदको सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले नेपालका ती उम्मेदवारीमा सहयोगका लागि आग्रह गरेकी छन् ।

साथै उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेको र सो कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायलाई सामेल गराउने योजना बनाएकाले त्यसमा सहभागिताका लागि पनि आफ्ना सकमक्षी तथा नेताहरुलाई आमन्त्रण गरेकी छन् ।

त्यसैगरी भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई आवश्यक पर्नसक्ने सहयोगका लागि पनि विभिन्न देशका आफ्ना समकक्षीहरु तथा मन्त्रीहरुसँग आग्रह गरेकी छन् ।

सोमबार मन्त्री डा देउवाले नर्वेका उपविदेशमन्त्री एन्ड्रे क्राभिकसँग भेटवार्ता गरेकी थिइन् । भेटमा उनले नर्वेले नेपालको शान्ति प्रक्रियाका साथै नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् ।

उनले नेपालले जलवायु परिवर्तनका कारण आफूलाई परेको असर तथा जलवायु न्यायबारे अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाउँदै आएकाले त्यसमा सहयोगका लागि पनि नर्वे सरकारको सहयोगको अपेक्षा गरेको सुनाइन्।

सोमबार नै मन्त्री डा देउवाले किर्गिज रिपब्लिकका उपप्रधानन्त्री एडिल बइसालोभसँग भेटवार्ता गरेकी थिइन् । त्यस क्रममा उनीहरूबीच जलवायु परिवर्तनको असर तथा हिमाल र पहाडका एजेन्डाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा रुपमा अघि बढाउने विषयमा कुराकानी भएका थियो ।

त्यसैगरी मन्त्री डा देउवाले फिलिपिन्सका उपविदेशमन्त्री चार्ल्स सि जोसेसँग पनि भेटवार्ता गरेकी थिइन् । त्यस अवसरमा उनीहरूबीच नेपाल फिलिपिन्स सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोबारे कुराकानी भएको थियो ।

त्यसअघि मन्त्री डा देउवाले सोमबार नै संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रलाई नेपालका तर्फबाट सम्बोधन गरेकी थिइन् । त्यस क्रममा उनले नेपाल आगामी सन् २०२७ देखि २०२९ को कार्यकालका लागि राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यको उम्मेदवारी घोषणा पनि गरेकी थिइन् ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा जारी रहेको राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा राष्ट्रसंघका सदस्य राष्ट्रहरुका मन्त्री तथा नेताहरू सहभागी छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours