१२ फागुन, काठमाडौं । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ले नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ । आइतबार साँझ सम्पन्न महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कार प्रदान गरे ।
कर्णालीको कथामा निर्माण भएको फिल्मले अवार्ड प्राप्त गर्दा आफूलाई खुसी लागेको उनले बताए । फिल्मकी अभिनेत्री आश्विनी साहले जुरी अवार्ड प्राप्त गरिन् ।
चैत ८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई डोल्पाको प्रसिद्ध पर्यटकीय थलो शे फोक्सुन्डो ताल लगायतका थलोमा छायांकन गरिएको हो । अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरि फिल्म निर्माण गरिएको हो ।
फिल्ममा रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको पनि अभिनय छ । पटकथा, संवाद र गीत निर्देशन आचार्यको छ ।
अनिल महर्जनको सम्पादन, सौरभ शर्मा संगीत, मोहनकुमार झिल्लुको छायाङ्कन रहेको फिल्म आरबी मूभिजको ब्यानरमा निर्माण भएको हो । निर्माता आचार्य र प्रकाश ज्ञवाली हुन् । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरण गर्नेछन् ।
+ There are no comments
Add yours