कुलमानलाई हटाउन ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषदमा मंगलबार नै लगेका थिए प्रस्ताव

१२  फागुन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट सरकारले हटाएको भनेर आइतबार पनि हल्ला फैलिएको छ।

गत असारमा कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि कुलमानलाई हटाउन ऊर्जामन्त्री दीपक खड्का ज्यान फालेर लागेका छन्। उनलाई पदमुक्त गर्न मन्त्रालयले पटक-पटक प्रस्ताव मन्त्रिपरिषदमा पुर्याए पनि निर्णय भने हुन सकेको छैन।

मंगलबार (फागुन ६ गते) बसेको मन्त्रिपरिषदको बैठकमा पनि कुलमानलाई हटाउने प्रस्ताव पेश भएको तर कांग्रेसकै मन्त्रीहरूको विरोधका कारण रोकिएको पाइएको छ।

कुलमानलाई हटाउने विषयमा मन्त्री खड्काले लविङ गरेपछि कांग्रेसबाटै सरकारमा सहभागी भएका गृहमन्त्री रमेश लेखकले असहमति जनाएपछि निर्णय नभएको एक मन्त्रीले जानकारी दिए।

मंगलबारको मन्त्रिरिषद बैठक अघि मन्त्री खड्काले संसद् बैठकमा कुलमानप्रति असन्तुष्टि देखाउँदै सरकारलाई नटेरेको आरोप लगाएका थिए।

उनले भनेका थिए, ‘उहाँ (कुलमान)ले केही राम्रा काम गर्नुभयो होला। त्यसका लागि उहाँलाई के दिनुपर्छ दिउँला। तर सञ्चालक समितिले निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न।’

आउँदो असार २५ गते चार वर्षे कार्यकाल पूरा गर्न लागेका घिसिङलाई तत्कालै हटाएर आफू अनुकूलको मान्छेलाई कार्यकारी निर्देशक बनाउने तयारीमा जुटेका छन्। कांग्रेसनिकट व्यक्तिलाई कार्यकारी निर्देशक बनाउने तयारी मन्त्रीले गरेपछि एमाले पनि तत्काल कुलमानलाई पदमुक्त गरिहाल्ने पक्षमा नउभिएको प्रधानमन्त्री निकट एमालेका एक सांसदले बताए।

आइतबार कुलमानलाई हटाएको विषयमा चर्चा भएपछि सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सोध्दा पन्छिए। उनले भने, ‘यो विषयमा ऊर्जामन्त्री जीलाई नै सोध्नुहोस्।’

You May Also Like

More From Author

+ There are no comments

Add yours