११ फागुन,एजेन्सी । लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स च्याट प्लाटफर्म च्याट जिपिटीका साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या ४० करोड नाघेको छ ।
च्याट जिपिटीको निर्माता कम्पनी ओपन एआईका प्रवक्ताले फेब्रुअरीमा च्याट जिपिटी प्रयोगकर्ताको संख्याले ४० करोडको कोशेढुंगा पार गरेको जानकारी गराएका छन् ।
माइक्रोसफ्टको लगानी रहेको ओपन एआईका गत डिसेम्बरमा ३० करोड सक्रिय साप्ताहिक प्रयोगकर्ता थिए । दुई महिनामै १० करोड सक्रिय प्रयोगकर्ता बढ्नुलाई प्रवक्ताले आर्टिफिसियल इन्टेलिजेन्स टूल्सको बढ्दो स्वीकार्यताको रुपमा व्याख्या गरेका छन् ।
योसँगै ओपन एआईको सशुल्क व्यवसायका प्रयोगकर्ताको संख्या पनि २० लाख नाघेको छ, जुन सेप्टेम्बरको तुलनामा दोब्बर हो ।
चिनियाँ एआई बट डीपसीकको प्रवेशसँगै जेनेरेटिभ एआईको क्षेत्रमा अमेरिकी वर्चस्वमाथि प्रश्न उठिरहेका बेला च्याट जिपिटी प्रयोगकर्ताका विषयमा उत्साहप्रद तथ्यांक सार्वजनिक भएको हो ।
ओपन एआईका अनुसार यसको तर्कशील एआई मोडेलको डेभलपर ट्राफिक पछिल्लो ६ महिनामा दोब्बरले बढेको छ भने जनवरीमा लन्च भएयता यसको o3 मोडेलको प्रयोगमा पाँच गुणाले वृद्धि भएको छ ।
उता चीनमा निर्यात प्रतिबन्धका बाबजुत चिनियाँ एआई कम्पनी डीपसीकले आफ्नो एआई मोडेलमा कसरी एनभिडिया कम्पनीको H800 चिप प्रयोग गर्यो भन्ने विषयमा पनि प्रश्न उठिरहेको छ ।
+ There are no comments
Add yours