११ फागुन, काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।
बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएर फिर्ता भएको सन्देश सुनाउने कार्यक्रम छ ।
यो विधेयक २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसबेला प्रधानमन्त्री थिए । ओलीले ल्याएका यो विधेयक २०७९ साल चैत २७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।
राष्ट्रिय सभाबाट पारित भएर गएको विधेयकमाथि प्रतिनिधिसभामा २०८० साल भदौ ३१ गते सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफल पछि दफावार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो ।
२०८१ साल पुस १८ गते राज्य व्यवस्था समितिले भ्रष्टाचारसम्बन्धी विधेयक पारित गरेको थियो । त्यसलाई यही फागुन ५ गते प्रतिनिधि सभाले पास गरेको थियो ।
प्रतिनिधि सभाबाट पारित भएर फिर्ता भएको सन्देश आज (आइतबार) राष्ट्रिय सभामा सुनाउन लागिएको हो ।
यसका अलावा आज राष्ट्रिय सभामा प्रतिनिधि सभाले विद्युतीय व्यापार विधेयक पारित गरेको सन्देश पनि सुनाइँदैछ । यो विधेयक पनि राष्ट्रिय सभामा दर्ता भएर पारित भएर प्रतिनिधि सभामा पठाएको थियो ।
यी दुवै विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।
+ There are no comments
Add yours