०९ फागुन, काठमाडौं । पियोर इनर्जीको प्राथमिक सेयर (आईपीओ) फागुन २० गतेदेखि निष्कासन हुने भएको छ । फागुन २० गतेदेखि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन हुन लागेको हो ।
कम्पनीले १ लाख ६० हजार कित्ता सेयर बाँके जिल्लाका स्थानीयबासीका लागि र १ लाख ४४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन गर्न लागेको हो । आयोजना प्रभावितले प्रतिव्यक्ति १० देखि अधिकतम १६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले अधिकतम ७ हजार २ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
प्रभावित स्थानीयले छिटोमा चैत ५ गतेसम्म र ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
स्थानीय प्रभावितले सौर्य विद्युत् उत्पादन केन्द्र खजुरा ८, नबिल बैंक कोहलपुर तथा नेपालगन्ज, लक्ष्मी सनराइज बैंक कोहलपुर र नेपालगन्ज, सिद्धार्थ बैंकको शाखा खजुरा र बीपी चोक तथा कुमारी बैंकका शाखा खजुरा र रिमझिम बजारबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारमा रहेकाले भने अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । पियोर इनर्जी कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन हुन लागेको हो ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् ।
२० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो । आयोजना ४३ विगाहा क्षेत्रमा फैलिएको छ ।
+ There are no comments
Add yours