०८ फागुन काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लेबनानविरूद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ।
दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले सावित्रा भण्डारी ‘साम्बा’को गोलबाट पहिलो हाफमा १-० गोलको अग्रता लिएको हो।
नेपालका लागि सावित्रा भण्डारी सम्बाले गोल गर्न सफल भइन्। उनले ४२ मिनेटमा डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार लेबनानकी डिफेन्डरको खुट्टामा लागेर जाली चुमेको थियो।
खेलको नवौं मिनेटमा लेबनानको डरलाग्दो आक्रमणलाई नेपालकी गोलकिपर तथा एन्जिला तुम्बापो सुब्बाले विफल पारिन्। उनले लेबनानकी क्रिस्टी महालुफको प्रहारलाई पञ्च गर्दै बारमाथि पठाएकी थिइन्।
लगत्तै नेपालकी विमला चौधरी पनि गोल गर्न असफल भइन्। उनले डिबक्सबाट हानेको प्रहार आकासियो।
१२ औं मिनेटमा लेबनानले अर्को अवसर गुमायो। नेपाली डिफेन्डरलाई बिट गर्दै डिबक्समा बल पुर्याएकी लेबनानकी लैला फिनिसिङमा चुकिन्। नेपालकी गोलकिपर एन्जिलाले गोलपोस्ट छोडिसकेको अवस्थामा उनको प्रहारले गोलपोस्टको दिशा लिन सकेन।
त्यसपछि नेपालले गोल गर्ने दुई अवसर खेर फाल्यो। क्रस बलमा विमला चौधरीको हेडर आकासिँदा सावित्रा भण्डारी साम्बाले डिबक्स नजिकबाट गरेको प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन।
३० औं मिनेटमा नेपालकी गोलकिपर एन्जिलाले लेबनानकी लैलासँगको वान भर्सेस वानको अवस्थामा प्रहार छेकेकी थिइन्।
पहिलो हाफको इन्जुरी समयमा साम्बाले नेपालको अग्रता दोब्बर पार्न चुकिन्। उनले लेबनानकी गोलकिपरले गोलपोस्ट छाडेको अवस्थामा हानेको प्रहार उनै गोलकिपरको खुट्टामा लागेर फर्कियो।
अघिल्लो खेलमा किर्गिस्तानलाई पराजित गरेको नेपालले आजको खेलमा जित निकाले फाइनलमा स्थान बनाउनेछ। फाइनल खेलअघि नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार म्यानमारसँग खेल्नेछ। लिगको शीर्ष स्थानमा रहेका टोलीबीच आगामी फागुन १४ मा उपाधि भिडन्त हुनेछ।
+ There are no comments
Add yours