तेस्रो वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

०८ फागुन, काठमाडौं । आगामी सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा आयोजना हुने तेस्रो वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउँदैछ ।

त्यसका लागि नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

फेडेरेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलाडीले वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिने प्रष्ट पार्दै त्यसका खेलाडी छनोट कार्यक्रम राखेर खेलाडी छनोट गरिने जानकारी दिएको हो ।

फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले च्याम्पियनसिपमा नेपालबाट ४ महिला र ४ पुरुष गरी ८ खेलाडी र २ अफिसियलसहित १० जनाको टिम सहभागि गराउने तयारी गरिरहेको बताए ।

वर्ल्ड एथ्लेटिक्स, वर्ल्ड माउण्टेन रनिङ एसोसिएसन, ईन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आईटिआरए), आईएयु र स्पानिस ट्रेल संघले संयुक्त रुपमा उक्त च्याम्पियनसिप आयोजना गर्नेछ ।

फेडेरेसनका अन्तर्राष्ट्रिय मामिला संयोजक प्रीति खत्रीले इच्छुक खेलाडीहरुले सुरुमा आफ्नो नाम दर्ता गर्न सक्ने र त्यसपछि खेलाडीहरुको छनोट प्रक्रिया अघि बढाइने बताए ।

एक महिनापछि अप्रिलमा खेलाडीहरु छनोट गरिने उनले जानकारी दिइन् ।

खेलाडीहरुको सेलेक्सन भएपछि एथ्लेटहरुलाई आफ्नो स्पोनसर आफैँ खोज्नका लागि फेडेरेसनले सम्झौता गर्ने पनि उनले बताइन् ।

तर त्यतिबेलासम्म खेलाडीहरुको लागि फेडेरेसनले प्रायोजकहरु खोज्न प्रयास गर्ने संघका अध्यक्ष एकेन्द्र कुँवरले बताए । उनले यो फेडेरेसन नयाँ संघ भएकोले विस्तारै सहयोगीहरु खोज्दै जाने बताए ।

नेपालका शीर्ष वरियताका पुरुष खेलाडी सुमन कुलुङलाई अष्ट्रियास्थित डा. सिग्रिड फाउण्डेसनले प्रायोजन गर्नेछ । सुमनले यसअघि नै आफ्नो प्रायोजक पाइसेकोले उनको सहभागिता लगभग पक्का भइसकेको छ । यस्तै नेपालबाहिर ट्रेल रनिङहरुमा प्रतिस्पर्धा गरिरहेकी सुनमाया बुढालाई पनि कैलाश फुगाले स्पोनसर गरेको छ ।

मार्च अन्तिममा इन्टरनेशन ट्रेल रनिङ एसोसिएसन (आईटिआरए) स्कोर हेरेर शीर्ष वरियताका खेलाडीहरुलाई सहभागिता गराउने फेडेरेसनको तयारी छ । अहिले आईटिआरए अनुसार पुरुषतर्फ सुमन कुलुङ, साङ्गे शेर्पा, अर्जुन कुलुङ राई र मनकुमार मगर पुरुषतर्फ र सुनमाया बुढा, प्रिया राई, राममाया बुढा र निर्मला राई महिलातर्फ शीर्ष चार वरियतामा छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours