०८ मंसिर, धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले संसद्को जारी अधिवेशनमै अध्यादेश पेस गरेर पारित गर्ने तयारी रहेको बताए ।
‘संसद्को अधिवेशन सुचारु छ । हामीले थुप्रै विधेयक प्रस्तुत गरेका छौं र, पारित पनि भएका छन् । सरकारले ल्याएको अध्यायदेश पनि संसद्मा प्रवेश पाउँदैछ,’ भण्डारीले भने, ‘सहमतिमै अध्यादेश पारित हुने तयारी भइरहेको छ ।’
अध्यादेशले सरकारलाई प्रभावकारी कार्य सम्पादन र सुशासनको प्रत्याभूति दिलाउने जस्ता महत्त्वपूर्ण विषयमा सघाउने भन्दै मन्त्री भण्डारीले अहिले देखिएका जटिलता अन्त्य हुने उल्लेख गरेका छन् ।
‘सरकारले अहिले सम्पादन गरिरहेका कामहरूको परिणाम निकाल्ने कुरामा थुप्रै जटिलता र समस्याका चाङहरू छन् । परिणाम निकाल्न निश्चित कोर्ष लिन्छ नै । त्यसैले ६ महिनाको परिणाम पर्याप्त होइन,’ भण्डारीले भने, ‘सरकारले गति लिइरहेको छ । कार्य सम्पादनलाई प्रभावकारी बनाउने र सुशासनलाई प्रत्याभूति गर्ने थुप्रै विषय अध्यादेशले अघि सारेको छ । निजी क्षेत्रले समेत स्वागत गरेको छ ।’
सरकारको अर्धवार्षिक समीक्षाको परिणामका आधारमा अहिले नै विषयगत मन्त्रालयका बारेमा धारणा बनाइहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।
+ There are no comments
Add yours