बच्चाका लागि कुकुर खतरा होइन, औषधि हो

०८ फागुन, काठमाडाैं । जब कुनै परिवारमा बच्चा जन्मिन्छ, नयाँ सदस्यलाई स्वागत गर्नुको उत्साह बेग्लै किसिमको हुन्छ । तर, घरमा पाल्तु कुकुर छ भने कतिपय परिवारका सदस्य चिन्तित हुन्छन्। चिन्ता कस्तो भने, कतै कुकुरले नयाँ बच्चालाई हानि गर्ने हो कि ? बच्चासँग कुकुर कसरी घुलमिल हुन्छ ? कुकुरमा हुने संक्रमण बच्चामा सर्ने हो कि ?

के कुकुरसँग राख्दा बच्चालाई जोखिम हुँदैन ?

यस्तोमा शिशुको आगमन भयो भनेर परिवारका सदस्य जस्तैगरी राखेको कुकुरलाई सडकमा लगेर छोड्न पनि सकिँदैन । न, हेला गर्न मनले मान्छ। विज्ञानले भन्छ, कुकर घरमा छ भने चिन्ता लिनुपर्दैन।

किनकी धेरैजसो अध्ययनले घरपालुवा कुकुरसँग हुर्किएका बच्चाको स्वास्थ्यलाई फाइदा पुग्ने उल्लेख गरेका छन्। त्यतिमात्र होइन, उनीहरुको मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ भनिएको छ ।

कुकुर र प्रतिरक्षा प्रणाली

कुकुर एक्लो र फुर्सदको समयमा मनोरन्जन गराउने साथी मात्र होइनन्। तिनीहरूले शरीरका लागि आवश्यक सूक्ष्मजीव (माइक्रोब्स) पनि ल्याउँछन्। यी राम्रा ब्याक्टेरियाले शिशुको आन्द्रामा सूक्ष्मजीवहरूको संख्या वृद्धि गर्न मद्दत गर्छ।

विज्ञका अनुसार विविध सूक्ष्मजीवले शिशुको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छन्।

पोषण विशेषज्ञ रायन फर्नान्डाका अनुसार जब कुकुर घरभित्र खेल्छ वा परिवारसँग सुत्छ, तब उनीहरू बाहिरबाट ल्याएका माइक्रोब्स शिशुलाई सर्ने सम्भावना हुन्छ। यसले शिशुको प्रतिरक्षा प्रणालीलाई विभिन्न कीटाणुहरूसँग लड्न सिकाउँछ।

यसले गर्दा सामान्य रुपमा धुलो शरीरमा प्रवेश गरेमा त्यो असरलाई रोक्ने काम ती राम्रो ब्याक्टेरियाले गर्छ।

शिशुलाई फाइदा पुर्‍याउने बारे केही अध्ययन पनि भएका छन् । सन् २०१३ मा युनिभर्सिटी अफ अल्बर्टाले गरेको अर्को अध्ययनअनुसार कुकुरको सम्पर्कमा आएका शिशुहरूमा ‘रुमिनोकोकस’ र ‘ओसिलोस्पाइरा’ जस्ता फाइदाजनक ब्याक्टेरियाको स्तर उच्च देखिएको छ।

यी ब्याक्टेरियाहरूले एलर्जीको जोखिम कम गर्छन्।

सन् २०१२ मा गरिएको एक अनुसन्धान अनुसार कुकुर भएका घरमा बस्ने शिशुहरूलाई जोखिम हुनसक्ने श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणको सम्भावना कम हुने देखिएको छ ।

शिशु प्रारम्भिक अवस्थामा कुकुरको सम्पर्कमा आएमा उनीहरूमा एलर्जी वा दमको सम्भावना १५ प्रतिशत कम हुने अध्ययनहरूले देखाएका छन्।

आन्द्राको स्वास्थ्य सुधार गर्छ

कुकुरले ल्याउने प्राकृतिक जिवाणुले शिशुको आन्द्राको शक्ति बढाउँछ, जसले राम्रो पाचन, मानसिक सन्तुलन र प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ।

भावनात्मक र सामाजिक विकास

कुकुर भएका बच्चाहरूमा सहानुभूति तथा तनाव व्यवस्थापनको क्षमता विकास द्रुत गतिमा हुन्छ । मानसिक रूपमा स्थिर शिशुहरूको प्रतिरक्षा प्रणाली पनि राम्रो हुन्छ। किनकी उनीहरु कुकुरलाई माया गर्न सिक्छन् ।

उनीहरु प्रति लगाब बढ्दै जान्छ । यसरी नै उनीहरुको भावनात्मक विकास भइरहेको हुन्छ ।

सतर्कता जरुरी

कुकुरसँग बस्दा बच्चालाई फाइदा त हुन्छ । तर केही सर्तकता पनि अपनाउन आवश्यक छ । जस्तो कि, कुकुरहरूले कहिलेकाहीँ सल्मोनेला वा अन्य परजीवी ब्याक्टेरिया ल्याउन सक्छन्। ती परजीवीले बच्चाको स्वास्थ्यमा असर पार्न पनि सक्छ ।

त्यसैले, कुकुरलाई सँगै बस्न दिए पनि कुकुरलाई चाट्न भने दिनुहुँदैन । किनभने शिशुको प्रतिरक्षा प्रणाली अझै विकसित भइरहेको हुन्छ।

एलर्जीको सम्भावना

यदि आमाबाबुलाई जनावरसँग एलर्जी छ भने, बच्चालाई पनि त्यस्तै समस्या हुनसक्छ। शिशुमा छालाका समस्या, अत्याधिक हाच्छिउँ वा आँसु आउने जस्ता लक्षण देखिएमा कुकुरको स्पर्शबाट टाढा राख्नुपर्ने हुन्छ।

बच्चा र कुकुरसँगै हुँदा निगरानी आवश्यक

कुकुर निकै मिलनसार र दुईबीच सम्बन्ध कसिलो भए पनि कहिलेकाहीँ अकल्पनीय प्रतिक्रिया नहोला भन्न सकिँदैन । बच्चालाई कहिल्यै कुकुरसँग एक्लै भने राख्नुहुँदैन । वा, राखेमा निगरानी गर्नुपर्छ।

कुकुरको नियमित स्वास्थ्य परीक्षण

कुकुरको नियमित खोप (जस्तै, रेबिज र बोर्डेटेला) तथा स्वास्थ्य जाँच गराउनु पर्छ। यसले गर्दा कुकुरबाट हानिकारक भाइरस वा जीवाणु सर्न पाउँदैन।

सरसफाई तथा हेरचाह

कुकुरलाई नुहाइदिँदा कडा रसायन प्रयोग नगरिएको साबुन प्रयोग गर्नुपर्छ । खेलौना, भुइँ तथा कुकुरको ओछ्यान नियमित सफा गर्नुपर्छ। एलर्जीको सम्भावना घटाउन हप्तामा कम्तिमा एक पटक भ्याकुमले कार्पेटहरु सफा गर्नुपर्छ।

सुरक्षित दूरी कायम राख्ने

कुकुरको खाना र ओछ्यान शिशुको खेल्ने स्थानबाट टाढा राख्नुपर्छ।

प्रशिक्षण आवश्यक

कुकुरलाई बच्चासँग खेल्दा वा सँगै बस्दा धैर्‍य राख्न सिकाउनुपर्छ। कुकुरलाई तान्ने, कान समात्ने वा चाट्ने जस्ता व्यवहार नगर्न बच्चालाई सिकाउनु आवश्यक छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours