सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाएको छ : प्रधानमन्त्री

०७ फागुन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विकास, समृद्धि र स्थिरताका लागि बनेको प्रष्ट पार्दै सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाएको उल्लेख गरेका छन् । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् । “यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने हो ।

‘अघिल्लो पटक सुरु भएका विकास निर्माणका काम अहिले अगाडि बढिरहेका छन्’, उनले भने । वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान रहेको प्रष्ट पार्दै उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहार सिद्ध रहेको बताएका छन् ।

यस्तै, उनले राससको सेवा विविधिकरणले यसको औचित्य थप स्थापित हुँदै गएको बताएका छन् । प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा सत्यतथ्य, विश्वसनीय, आधिकारिक र भरपर्दो समाचारका माध्यमबाट आमजनतालाई सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका अझ बढ्दै गएको महसुस भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्,“सूचना–प्रविधिको व्यापकतासँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा राससले आरम्भ गरेको श्रव्यदृष्य सेवा, मातृभाषा समाचार सेवा, सांसदसँग रासस संवाद, आलेख÷विचार आदि सेवाको विविधिकरणका कार्यले यसको औचित्य थप स्थापित हुँदै गएको मान्न सकिन्छ ।”

मुलुकको हरेक राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा एक साक्षीका रुपमा राससले विगतदेखि खेल्दै आएको भूमिकालाई वर्तमान समय सुहाउँदो बनाउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले राससले सेवा प्रवाहमा छिटो छरितोपना, व्यावसायिकता र गुणस्तरीयता कायम गर्दै आमजनता र सरकारबीच सेतुको भूमिका निर्वाहमा आफूलाई अझै अब्बल सावित गर्न सक्नुपर्नेमा जोड दिएका छन्।

“भ्रामक र मिथ्या सूचना–समाचारले समाजमा एक प्रकारको विद्वेष र विवाद सिर्जना गरी सामाजिक अराजकता र अस्थिरता मच्याउने कोसिस भइरहेका सन्दर्भमा त्यसलाई चिरेर जनतालाई सही सूचना प्रवाह गर्न रासस जस्ता समाचार संस्थाले आफूलाई अग्रणी रुपमा प्रस्तुत गर्न सक्नुपर्छ”, उनले भनेका छन् ।

प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्ने गरी जिम्मेवार भूमिका खेल्न सक्नुपर्ने उनको भनाइ छ । “अहिलेको सरकारले राष्ट्रको अभिभारा पूरा गर्ने गन्तव्य निर्धारण गरेको छ, यस उद्देश्यलाई प्राप्त गर्न हामी स्पष्ट दूरदृष्टि, तदअनुसारका नीति र कार्यक्रम एवं ती नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यसहित अघि बढिरहेका छौँ”, उनले भनेका छन् ।

राष्ट्रका अभिभारा पूरा गर्न सरकारले अघि सारेको सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस अभियानलाई जनसमक्ष विस्तार गर्न राससले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours