प्रशिक्षणका लागि नेपाली कुस्ती टोली भारतमा

०६ फागुन, काठमाडौं । नेपाली कुस्ती टोली एसियाली खेलकुदको तयारीका लागि भइरहेको प्रशिक्षण थप प्रभावकारी बनाउन भारतको उत्तर प्रदेशस्थित नन्दनीनगर पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने आसन्न २०औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी सञ्चालन गरिहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ खेलाडीसहित ८ सदस्यीय नेपाली कुस्ती टोली सोमबार त्यहाँ पुगेका हुन् ।

टोलीमा समान ३–३ पुरुष र महिला खेलाडी तथा २ प्रशिक्षक छन् । पुरुष खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव रहेका छन् । महिलामा सुशिला चन्द, मनीषा सिंह र हेमा भट्ट छन् । प्रशिक्षकमा कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसी र सहायक प्रशिक्षकमा सञ्जय यादव रहेका छन् ।

टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला र राखेपका सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले सोमबारै एक कार्यक्रमबीच त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरे ।

भारत बसाइका क्रममा टोलीले १५ दिन प्रशिक्षणका साथै भारतीय खेलाडीसंग मैत्रीपूर्ण खेल पनि खेल्ने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours