०६ फागुन, काठमाडाैं । चालु आर्थिक वर्षमा बैंकहरुको कर्जा लगानीमा सुधार देखिएको छ । अधिक तरलताको चपेटामा रहेका बैंकहरुले ब्याजदर घटाएसँगै कर्जा लगानी बढेको हो ।
चालु आर्थिक वर्षको माघसम्ममा बैंकहरुले कर्जा लगानी बढाएसँगै निक्षेप संकलमा भने कमी आएको छ । नेपाल बैंकर्स एशोसिएसनको चालु आर्थिक वर्षको सात महिनामा बैंकहरुले निक्षेप भन्दा ७० अर्ब धेरै कर्जा लगानी गरेका छन् । ब्याजदर घटेपनि बैंकिङ प्रणालीको निक्षेप घट्ने र कर्जा बढ्ने गर्छ । तर, आर्थिक सुस्तताका कारण कर्जाको माग सोचअनुसार भने नबढेको बैंकहरु बताउने गर्छन ।
चालु आर्थिक वर्षको माघसम्ममा बैंकहरुको कर्जा लगानी २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँ छ । यो कर्जा लगानी गत आवको सोही अवधिको तुलनामा ३९.९८ प्रतिशतले बढ्यो । गत आवको माघसम्ममा बैंकहरुले १ सय ८३ अर्ब ५५ करोड रुपैयाँ मात्र कर्जा लगानी गेका थिए । चालु आवको कर्जा लगानीमा देखिएको सुधारले गत आवको तुलनामा आर्थिक गतिविधि बढेको स्पष्ट हुन्छ । आर्थिक गतिविधि समान्य बढेको भएपनि अर्थतन्त्रले गति समाइसकेको अवस्था भने होइन ।

त्यसैगरी चालु आवको माघसम्ममा बैंकहरुले २४२.२८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो निक्षेप संकलन गत आवको सोही अवधिको तुलनामा ३१.८१ प्रतिशतले थोरै हो । गत आवको माघसम्ममा ३५५ अर्ब ३१ करोड निक्षेप संकलन गरेका थिए । गत आवमा बैंकहरुले चालु आवको तुलनामा ब्याजदर नघटाएको हुनाले पनि निक्षेप बढेको बैंकहरुको बुझाई छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा बैंकहरुको निक्षेप औसत ब्याजदर ४.७५ प्रतिशत थियो । त्यसैगरी कर्जाको औसत ब्याजदर ८.६९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । तर, गत आवको माघसम्ममा वित्तीय क्षेत्रको औसत निक्षेपको ब्याजदर ७.०१ र कर्जाको ११.०८ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको माघ महिनासम्ममा सबैभन्दा धेरै निक्षेप बढाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । सो अवधिमा बैंकले ४० अर्ब ८७ करोड रुपैयाँ निक्षेप थप गरेको छ । सो अवधिसम्ममा बैंकको कुल निक्षेप ४ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ छ । त्यसैगरी सो अवधिमा सबैभन्दा धेर एनआइसी एसिया बैंकको निक्षेप घटेको छ । बैंकको ५८ अर्ब २२ करोड रुपैयाँ निक्षेप घटेर गत असारको तुलनामा ३ खर्ब २ अर्बमा झरेको छ ।

चालु आवको सात महिनामा एनआईसी एसिया, प्रभु र सिद्धार्थ बैंकको निक्षेप गत असारको तुलनामा निक्षेप घटेको छ भने बाँकी १७ बैंकहरुको निक्षेप बढेको छ ।
चालु आवको सात महिनाको अवधिमा ग्लोबल आइएमइ बैंकले सबैभन्दा धेरै कर्जा लगानी बढाएको छ । सो अवधिमा बैंकले ४० अर्ब ५७ करोड थप कर्जा लगानी गरी कुल कर्जाको आकार ४ खर्ब ३१ अर्ब पुर्याएको छ । चालु आवको सो अवधिमा एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कर्जा घटेको छ । बैंकको ३२ अर्बले कर्जा घटेको छ । सो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको पनि समान्य कर्जा लगानी घटेको छ ।
चालु आर्थिक वर्षको माघसम्ममा बैंकहरुको कुल निक्षेप ५९ खर्ब ९७ अर्ब रहेको छ भने कर्जा लगानी ४८ खर्ब २७ अर्ब रहेको छ । सो अवधिमा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७९.३५ प्रतिशत छ । गत आवको सोही अवधिमा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८० प्रतिशत रहेको थियो ।

+ There are no comments
Add yours