०६ फागुन, काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा आरोपी अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ।
लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका श्रीवास्तवलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ। सोमबारदेखि उनको मोबाइल प्रमाणका रूपमा जफत गरिएको बताइएको छ।
अनुसन्धानको सिलसिलामा प्रहरीले प्रकृतिको मोबाइल, ल्यापटप र एउटा डायरी पनि संकलन गरेको छ। यी सामग्रीहरूको डिजिटल फरेन्सिक जाँच गरेर थप प्रमाण जुटाइने प्रहरीले जनाएको छ।
२० वर्षीया लम्साल आइतबार अपराह्न कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि श्रीवास्तव भागेर कोलकातास्थित आफ्नो घर जान खोजेका थिए। तर, सार्वजनिक दबाबका कारण उनी विमानस्थलबाटै पक्राउ परे।
आरोपी अड्विक सोही कलेजमा बि-टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत रहेको बताइएको छ। प्रकृतिलाई न्याय माग्दै गरिएको प्रदर्शनलाई प्रशासनले दमन गर्न खोजेपछि यो प्रकरणले थप उग्र रूप लिएको थियो।
प्रारम्भमा उग्र बनेको कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विध्यार्थीहरुलाई होस्टेलबाट निकालेर प्रतिबन्ध लगाएको थियो। कलेज प्रशासनको सो कदमको विरोध भएपछि पछि सूचना सच्याएको थियो। अहिले प्रकृतिको अभिभावक भारत पुगेका छन्। पोस्टमार्टम भइसकेकाले शव प्रक्रिया पुर्याएर नेपाल ल्याउने परिवारका सदस्यले बताएका छन्।
यस घटनाले नेपालको प्रतिनिधिसभादेखि उडिसाको विधानसभासम्म चर्चा पाएको छ। उडिसाका सांसदहरूले कलेजको लापरबाहीका कारण अन्तर्राष्ट्रिय स्तरमा समेत राज्यको निन्दा भएको बताएका छन्। यता नेपालको प्रतिनिधी सभामा बोल्दै सांसदहरूले समेत नेपाली विद्यार्थीको मृत्यु र कलेज प्रशासनले नेपाली विध्यार्थीहरुमाथि गरेको दुर्व्यवहारको कडा शब्दमा विरोध गरिरहेका छन्। मङ्गलवार प्रतिनिधी सभामा बोल्ने अधिकांश सांसदहरूले सो घटनाको विरोध गरेका छन्।
+ There are no comments
Add yours