ओडिसाको विधानसभामा पनि उठ्यो प्रकृति लम्साल मृत्युबारे प्रश्न

०६ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यको विधानसभामा पनि भुवनेश्वरको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको विषयले प्रवेश पाएको छ ।

ओडिसा टिभीका पत्रकार स्वाधीन राउतले अनलाइनखबरलाई बताए अनुसार, मूलतः प्रतिपक्षी दलका सांसद्हरुले सरकारले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

‘कतिपयले यसका सञ्चालकलाई नियन्त्रणमा लिनुपर्ने समेत माग गरेका छन्,’ राउतले भने ।

प्रतिपक्षी दलका नेताहरूले यसले प्रदेशको अन्तर्राष्ट्रियस्तरमै आलोचना भएको भन्दै गम्भीर जाँचको माग गरेका छन् ।

‘ओडिसाको अस्मिताको कुरा गरेर शक्तिमा आएको विजेपी सरकारले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न असफल भएको छ’, प्रमुख प्रतिपक्षी दलका नेता प्रताप देवले संसद्मा भनेका छन्, ‘केआईआईटी यूनिभर्सिटीमा भएको विद्यार्थीको मृत्युले ओडिसाको अन्तर्राष्ट्रिय रुपमै निन्दा भइरहेको छ ।’

पूर्वमन्त्री समेत रहेका विजु जनता दल (बीजेडी) का नेता देवले प्रदेशको राजधानीदेखि अन्य क्षेत्रमा पनि सुरक्षा स्थिति खस्किँदो अवस्थामा रहेको बताए ।

उनलाई जवाफ दिँदै बिजेपीका नसांसद् तंकाधर त्रिपाठीले नेपाली विद्यार्थीको मृत्युलाई दुर्भाग्यपूर्ण घटना भएको बताए । ‘केआईआईटीका संस्थापक कुन पार्टीबाट सांसद् बनेका थिए ? उसले उनलाई बढुवा गरेको थियो ?,’ भन्दै प्रतिप्रश्न गरेका छन् ।

केआईआईटीका सञ्चालक अच्युत सामन्त सन् २०१९ देखि २०२४ सम्म लोकसभा सदस्य थिए । उनी अहिलेको प्रतिपक्षी बिजेडीबाटै सांसद् निर्वाचित भएका थिए ।

कांग्रेसका सांसद् तारा बहिनीपतिले चाहिँ नेपाली विद्यार्थीको मृत्युमा न्यायिक जाँचको माग गरेकी छन् ।

‘केआईआईटी प्रशासनले नेपाली विद्यार्थीप्रति गरेको व्यवहारका कारण ओडिसाको अन्तर्राष्ट्रिय रुपमै आलोचन भइरहेको छ’, उनले भने, ‘न्याय माग्दै प्रदर्शन गर्ने नेपाली विद्यार्थीप्रति कलेज प्रशासनले देखाएको व्यवहार भत्सर्नायोग्य छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours