अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारको विजयी सुरूवात

०५ फागुन, काठमाडौं । सोमबारदेखि काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलअन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा चार गोल भएका थिए । म्यानमारले पहिलो हाफमा थुप्रै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा गोल गर्न सकेन । लेबनानकी गोलरक्षक मार्सेल सिकीले शानदार बचाउहरू गरेकी थिइन् ।

लेबनानले पनि पहिलो हाफमा गोल गर्ने उत्कृष्ट अवसर गुमाएको थियो । लेला इस्कानडरले किपरलाई बिट गरिसकेको अवस्थामा प्रहार गरेको शट बारमा लागेर फर्किएको थियो ।

खेलको ५७औं मिनेटमा म्यानमारकी कप्तान विन थेइङ्गगी तुनले एजबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएकी थिइन् । मे हेट मोन माइन्टले दिएको पासलाई सदुपयोग गर्दै विनले गोल गरेकी थिइन् ।

त्यसको तीन मिनेटमै लेबनानकी लेला इस्कानडरले गोल गरेकी थिइन् । लाएलाले मैदानको मध्यभागबाट आएको पासलाई सदुपयोग गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा बिट गर्दै गोल गरिन् ।

तर त्यसपछि म्यानमारले थप २ गोल गर्‍यो । ७२औं मिनेटमा यु पेर खिनेले दायाँ भागबाट दिएको क्रसमा स्वे यी तुनले हेडमार्फत गोल गर्दै म्यानमारलाई पुन: अग्रता दिलाइन् । ७५औं मिनेटमा सान थव थवले गोल गर्दै अग्रता अझ बढाइन् ।

अब साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours