धुलिखेलमा आउटडोर फिल्म स्टुडियो बन्ने, १३०० रोपनी जग्गामा सम्झौता

०५ फागुन, काठमाडौं । चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा सोमबार यस्तो सम्झौता भएको हो ।

नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डीसीबीच सम्झौता भएको हो । सो अवसरमा पूर्वसंचारमन्त्री गोकुल बासकोटा लगायतको उपस्थिती थियो ।

अध्यक्ष डीसीले सो अवसरमा बोल्दै धुलिखेलमा बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे । उनले भने, ‘यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ । यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।’

नगरप्रमुख श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि नगरपालिकाले हरतरहले साथ दिने बताउँदै भने, ‘यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा उभ्याउनेछ । पर्यटन प्रवद्र्धनसँगै स्थानीय रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्नेछ ।’

नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय चलचित्र निर्माता तथा निर्देशकलाई समेत आकर्षित गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाइने बोर्डले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours