०४ फागुन, बैतडी । मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ । गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर मलामी जान कोही तयार नहुँदा यस्तो समस्या भएको हो । सिगास गाउँपालिका–१, अङडेगाडा गाउँकी माना टेलर लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको शनिवार देहावसान भएको छ । गाउँमा विश्वकर्मा लोहार, चुनारा, सार्कीलगायत दलित र अन्य गैर दलित समुदायका परिवार भए पनि दलितभित्रै जातीय विभेद भएकाले माना टेलरको शव उठ्न सकेको छैन ।
मलामी जाने मानिस नभेटिँदा शव वाहन वा ट्याक्टरका लागि कुरा गरे पनि शनिबार रातिसम्म पनि टुङ्गो नलागेको मृतकका कुरुवा छोरा ३० वर्षीय प्रकाश टेलरले बताउनुभयो । प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकसमेत हुनुहुन्छ । आमाको मृत्यु हुँदा मलामी जाने मानिस नपाउँदा दिनभरि आमाको शव कुरेर आँगनमा बस्नु परेको प्रकाशले पीडा सुनाउनुभयो । भक्कानिँदै उहाँले भन्नुभयो,“मलामी जाने मानिस भइदिए घरबाट आघा घण्टाको दूरीमा ढणालीगाड पर्छ । त्यतै दाहसंस्कार गर्न सकिन्थ्यो । तर, यो जात व्यवस्थाले आमाको शव उठाउन नसक्दा एक्लो अनुभूति भएको छ ।”
प्रकाशका ७२ वर्षीय रोगी बुवा श्रीमतीको मृत्युपछि ओछ्यानमा थला पर्नुभएको छ । सामान्य ज्याला मजदुरी र खलो (बालीघरे) मा काम गरेर जीविका चलाउँदै आएका टेलर परिवार गाउँकै एक मात्र दमाई परिवार हुनुहुन्छ । मलामी जाने मानिस नभएपछि आफ्नो पुर्ख्यौली थातथलो पाटन नगरपालिका–४, बगाडी गाउँका नातेदारलाई शव वाहन वा ट्याक्टरको व्यवस्था गरिदिन टेलिफोन गरेको प्रकाशले बताउनुभयो ।
मलामी जाने मानिस नभएकाले गाडीको व्यवस्था गरिदिन वडा कार्यालयमा पनि फोन आएको सिगास गाउँपालिका–१ का वडा अध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले शव वाहन वा ट्याक्टरका लागि नजिकको छिमेकी पाटन नगरपालिकासित कुरा भइरहेको बताउनुभयो । सवारी जिपले शव बोक्न नमानेका कारणले समस्या भइरहेको उहाँले बताउनुभयो ।
दमाई जातीको शव बोकेर मलामी जान सोही अन्य दलित जातीका मानिस तयार नभएपछि गाडीका लागि पाटन नगरपालिकामा टेलिफोन आएको उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो ।
उहाँले दलितभित्र यस्तो जातीय विभेद रहिरहेसम्म जनप्रतिनिधिले कति चोटि गाडीको व्यवस्था गर्न सक्छन् ? भन्ने प्रश्न गर्नुभयो । “शव व्यवस्थापनका लागि जनप्रतिनिधि र दलित संघ सस्था मिलेर गरौँला तर जातकै कारणले शव नउठ्ने अवस्था किन विद्यमान छ ? यस्तो कुरीति हटाउन दलित, गैर ददित सबै एकजुट हुन जरुरी छ । यस्तो घटना भोलि पनि हुन सक्छ ? समाजले विभेद गरिरहने हो भने कतिजनाको शव बोकेर अर्को ठाउँमा लैजान सम्भव होला ?”

दुई दिनपछि उठाइयो माना टेलरको शव
गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्याएर दाहसंस्कार गर्नुभएको छ ।
६१ वर्षीय माना टेलरको शवलाई ट्याक्टरमा राखेर ५० किलोमिटर टाढा पाटन नगरपालिका–६, तिपडीगाड पुर्याइएकाे हो । सिगास गाउँपालिका–१, अङडेगाडा गाउँका प्रकाशकी आमा माना टेलरको शनिबार बिहान ११ बजे मृत्यु भएको थियो । गाउँमा एक मात्रै दमाई परिवार भएकाले मलामी जाने मानिस नहुँदा ट्याक्टर बोलाइएको प्रकाशले बताउनुभयो ।
आमाको मृत्युभए पछि दाहसंस्कारका लागि बहिनी ज्वाइँ र कञ्चनपुरको महेन्द्रनगरबाट आफन्त नातेदार मोहन टेलर, श्याम टेलर, कपिल टेलर लगातका आफन्तलाई बोलाएको प्रकाशले बताउनुभयो । आइतबार २५ हजार रुपियाँमा ट्याक्टर बुक गरेर आफन्त र छिमेकी ज्ञानेन्द्र ऐरी लगायतको सहयोगमा शवलाई मशानघाट पुर्याइएकाे उहाँले बताउनुभयो ।
गाउँमा समाजमा अहिले पनि गैर दलितले दलितको शव बोकेर मलामी जाने चलन नभए पनि प्रकाश टेलर एक्लो परिवार भएकाले राति शव कुर्न भने केही गाउँले जम्मा भएको स्थानीय ज्ञानेन्द्र ऐरीले बताउनुभयो । उहाँले भन्नुभयो, “शवलाई ट्याक्टरमा राखेपछि म पनि उहाँहरू सँगसँगै मोटरसाइकलमा मलामी आएको छु । मसँगै मेरा फूपाजु नरबहादुर साउद पनि साथमा आउनुभएको छ । गाउँ समाजमा दलितको शव काँधमा बोकेर मलामी जाने चलन छैन । यद्यपि राति शव कुर्न भने गैरदलित पनि आएका थिए । अरू मलामी नआए पनि यस्तो कुरीति हट्नु पर्छ भनेर मचाहिँ मलामी आएको हुँ।”
प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयमा मासिक आठ हजार तलब पाउने गरी निजी श्रोतमा शिक्षण गर्दै आउनुभएको छ । ३० वर्षीय प्रकाश स्थानीय सामुदायिक वन उपभोक्ता समितिको सचिवसमेत हुनुहुन्छ । श्रमदानमा गाउँमा बत्ती बाल्ने बेला प्रकाशले बिजुलीका पोल बोक्न सहयोग गरेकाले प्रकाश सहयोगी भावनाको व्यक्ति भएको २१ वर्षीय छिमेकी ज्ञानेन्द्र ऐरीले बताउनुभयो ।
प्रकाशको गाउँसँगै जोडिएका वरिपरिका टोलमा दलित, गैरदलित गरी करिब तीन सय मानिसको बसोवास छ । गाउँमा गैरदलित मात्रै होइन, दमाई जाति बाहेकका अन्य दलितसमेत मलामी जान तयार नभएपछि प्रकाशले एक्लो अनुभूति भएको पीडा सुनाउनुभयो । गाउँ समाजमा अहिले पनि दलितभित्रै विश्वकर्मा जाति र दमाई जातिबिच भात भान्सा र शवलाई काँध थापेर मलामी जाने चलन नभएको उहाँले बताउनुभयो ।
प्रकाशको परिवार करिब ४० वर्ष अघि पाटन नगरपालिका–४, बगाडी गाउँबाट सिगास गाउँपालिका–१ (साविकको गाँजरी गाविस–७) अङडेगाडा बसाइँसराइ गरी आएको थियो। सो गाउँमा बसोवास गर्ने अन्यको दाहसंस्कार गर्ने स्थान सोही ठाउँको डुब्केखोला भए पनि त्यहाँ शव बोकेर पैदल हिँड्नु पर्छ ।
दिनभरि आँगनमा एक्लै शव कुरिरहेको विषयमा गोरखापत्र अनलाइनमा समाचार प्रकाशित भएपछि स्थानीय २१ वर्षीय युवा ज्ञानेन्द्र ऐरी लगायतका युवाले रातभरि शव कुर्न सहयोग गरेपछि जनप्रतिनिधिकोसमेत ध्यानाकर्षण भएको थियो । गाउँका शिक्षित युवाजति सबै रोजगारीका लागि विदेश पलायन भएपछि गाउँमा मलामी जाने मानिस नभेटिन मुस्किल भएको सिगास गाउँपालिका–१,का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले गाउँमा एक्लो परिवारलाई प्रकाशको जस्तै समस्या हुने गरेको बताउनुभयो । मलामी जाने मानिस नहुँदा शव वाहन वा ट्याक्टरका लागि शनिबार कुरा गरे पनि आइतबार मात्रै एउटा ट्याक्टर तयार भएपछि दाहसंस्कारको काम सम्पन्न भएको उहाँले बताउनुभयो ।
समाचारले भयो ध्यानाकर्षण
मलामी जाने मानिस नपाउँदा दिनभरि आमाको शव कुरेर बसेका प्रकाश टेलरको विषयमा गोरखापत्र लगायतका सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जनप्रतिनिधि, अधिकारकर्मी, राजनीतिक दलका नेताले घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
राष्ट्रिय दलित आयोगका देवराज विश्वकर्मा, सामाजिक अभियन्ता डा.मित्र परियार, अधिवक्ता गोविन्दराम परियार, राष्ट्रिय मावन अधिकार आयोगका पवन भट्ट लगायतले समाचार पढेर घटनाप्रति गम्भीर भएको बताउनु भएको छ । समाचार प्रकाशित भएपछि दलित अधिकारकर्मी रिता परियार, बलभन्द्र दयालले प्रकाश दमाईलाई यातायात खर्च उपलब्ध गराउने बताउनुभएको छ ।
प्रकाशको परिवारलाई सिगास गाउँपालिका र स्थानीय वडा कार्यालयबाट हुनसक्ने सहयोग जनप्रतिनिधिका तर्फबाट गरिने सिगास गाउँपालिका–१,का वडाध्यक्ष राचन्द्र ऐरीले प्रतिबद्धता जनाउनुभएको छ ।
+ There are no comments
Add yours