०४ फागुन, काठमाडाैं । सर्वोत्तम सिमेन्टले जगदम्बा सिमेन्ट प्रालि र शुभश्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडको सेयर खरिद गरेको छ।
सर्वोत्तम होल्डिङमार्फत उक्त सेयर खरिद गरिएको कम्पनीले जनाएको छ।
त्यसअघि जगदम्बा सिमेन्ट र शुभश्र जगदम्बा सिमेन्ट मिल्सको सेयर खरिदका क्रममा दुवै कम्पनीको स्वतन्त्र लेखापरीक्षकबाट सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन बनाइएको थियो।
सोही प्रतिवेदनअनुसार शुभश्री जगदम्बा सिमेन्ट मिल्सको प्रतिसेयर मूल्य १०० रुपैयाँ र जगदम्बा सिमेन्ट प्रालिको प्रतिसेयर मूल्य १५ रुपैयाँमा खरिद गरिएको कम्पनीको छैठौँ साधारणसभाको माइन्युटमा उल्लेख छ।
गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको ५ अर्ब ३८ करोडबाट करिब १८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड पुगेको छ। चालू आवको मंसिरसम्म सर्वोत्तम सिमेन्टले ५३ प्रतिशतले क्लिंकर बिक्री र १४ प्रतिशतले सिमेन्ट बिक्री बढाएको छ। कम्पनीले कुल २ अर्ब ८३ करोडको सिमेन्ट र क्लिंकर बिक्री गरेको छ।
योसँगै अब कम्पनीको अधिकृत पुँजी साढे ५ अर्ब हुने भएको छ। यसलाई प्रतिसेयर १०० रुपैयाँको दरमा ५ करोड ५० लाख कित्ता साधारण सेयरमा विभाजन गरिएको छ।
कम्पनीको तत्काल जारी गर्ने सेयर पुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ हुनेछ। यसलाई प्रतिसेयर १ सय रुपैयाँका दरले ४ करोड ९७ लाख ५५ हजार थान साधारण सेयरमा विभाजन गरिएको छ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ५५ लाख हुने र यसलाई पनि सय रुपैयाँ प्रतिकित्ता हिसाबमा ४ करोड ९७ लाख ५५ हजार थान साधारण सेयरमा विभाजन गरिएको छ। जारी पुँजीमध्ये ८७.०९६७ प्रतिशत सेयर ४ करोड ३३ लाख ३५ हजार थान सेयर संस्थापक समूहमा र १२.९०३३ प्रतिशत सेयर ६४ लाख १९ हजार ९ सय ८७ थान सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
+ There are no comments
Add yours