अब आइफोनका चिनियाँ प्रयोगकर्तालाई अलिबाबाको एआई

०२ फागुन, काठमाडौं । चिनियाँ आइफोन प्रयोगकर्ताहरुका लागि आर्टिफिसियल इन्टेलिजेन्स सेवा उपलब्ध गराउन एप्पलले चिनियाँ कम्पनी अलिबाबासँग सहकार्य गर्ने भएको छ ।

यो सहकार्यले एप्पललाई उसको निकै महत्वपूर्ण बजार चीनमा उपस्थिति झनै दह्रिलो बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । जहाँ स्थानीय ब्राण्डहरुसँगको प्रतिस्पर्धाका कारण आइफोनको बिक्री निरन्तर घटिरहेको छ ।

अलिबाबा ग्रुपका अध्यक्ष जोए साइले दुबईमा आयोजित विश्व सरकार सम्मेलनका क्रममा आइफोन एआईको क्षेत्रमा अलिबाबा र एप्पलबीच सहकार्य हुन लागेको पुष्टि गरे ।

सम्मेलनमा बोल्दै साइले भने, ‘उनीहरुले धेरैवटा चिनियाँ कम्पनीसँग कुराकानी गरे । अन्त्यमा व्यवसायका लागि हामीहरुलाई छनोट गरे । उनीहरुले आफ्नो आइफोनमा हाम्रो एआई राख्न चाहेका छन् । हामी एप्पलजस्तो विशाल कम्पनीसँग व्यवसाय गर्न पाउँदा गौरवान्वित छौँ।’

चीन बाहिर आइफोनमा एप्पलको आफ्नै एआर्य तथा ओपन एआईको च्याट जिपिटी समेत प्रयोग गर्न पाउने सुविधा छ । तर चीनमा अलिबाबा र एप्पलबीचको सहकार्यमा पनि त्यस्तो सुविधा हुने नहुने बारेमा उनले केही खुलाएनन् ।

अलिबाबाका लागि यो किन महत्वपूर्ण छ ?

एप्पलसँगै यो सहकार्य अलिबाबाका लागि समेत प्रतिस्पर्धी चिनियाँ एआई बजारमा एउटा महत्वपूर्ण विजयको रुपमा रहेको छ, जहाँ डीपसीक लगायतका चर्चित एआई कम्पनीहरु रहेका छन्। त्यस्तै अलिबाबासँग एआईको क्षेत्रमा भएको सहकार्यबाट चिनियाँ आइफोन प्रयोगकर्ताका लागि उपलब्ध हुने नयाँ एआई एप्पलका लागि समेत अत्यन्तै महत्वपूर्ण विषय हो ।

यसले हुवावे लगायतका स्मार्टफोनका कारण चिनियाँ बजारमा आइफोनको घट्दो बिक्रीमा सुधार ल्याउने अपेक्षा गरिएको छ । पछिल्लो त्रैमासिकमा चीनमा आइफोनको बिक्रीमा ११ प्रतिशतले गिरावट आएर १८ अर्ब ५१ अर्ब डलरमा झरेको छ । जबकि चीनमा गतवर्ष २०२४ मा आइफोनको वार्षिक बिक्रीमा १७ प्रतिशतले गिरावट आयो ।

आइफोनले चिनियाँ बजारमा लोकप्रियता गुमाउँदै जानुमा यसमा अत्याधुनिक एआई फिचरहरुको अभाव हुनुलाई विश्लेषकहरुले मूख्य कारक मानेका छन् । वर्तमानमा स्मार्टफोनहरुका लागि एआई फिचर सबैभन्दा महत्वपूर्ण आकर्षणको रुपमा स्थापित भइसकेको छ ।

आइफोनमा च्याट जिपिटी भएतापनि यो चीनमा प्रतिबन्धित भएकाले उपलब्ध छैन। त्यसैले चिनियाँ प्रयोगकर्तामाझ आइफोनमा एआई फिचर उपलब्ध गराउनका लागि एप्पलले स्थानीय एआई कम्पनीसँग सहकार्य गर्नु अनिवार्य थियो।

आइफोनमा अलिबाबाको एआई फिचर समावेश गर्ने विषयमा एप्पल र अलिबाबाले चीनको सम्बन्धित निकायमा स्वीकृतिका लागि कागजात पेश गरिसकेको बताइएको छ ।

स्मरण रहोस् चीनमा अलिबाबा कम्पनी धेरैको रोजाइमा पर्न सफल एआई कम्पनीको रुपमा रहेको छ र सन् २०२५ सुरु भएयता यसको शेयर मूल्यमा ४० प्रतिशतले बढेको छ । जनवरीको अन्त्यतिर अलिबाबाले आफ्नो त्तधभल द्द।छ एआई मोडेल जारी गरेको थियो । यो डीपसीक भी थ्री भन्दा पनि अत्याधुनिक रहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा

You May Also Like

More From Author

+ There are no comments

Add yours