आहारारा पोखरा गोल्डकप : फाइनलको लागि पुलिस र ब्ल्याक बुल्स तयार

०२ फागुन, पोखरा । २४औं संस्कणरको आहरारा पोखरा गोल्डकपको उपाधिका लागि शनिवार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

शुक्रबार भएको प्रि म्याच कन्फेरेन्समा पुलिस र ब्ल्याक बुल्सले फाइनलका लागि तयार भएको जनाएका छन् ।

खेलाडीको रुपमा ३ पटक आहरारा पोखरा गोल्डकपको उपाधि जितेका नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि मानसिक र शारीरिक रुपमा तयार रहेको बताए । ‘मानिसिक रुपमा हामी तयार छौँ । हामी ११ औं पटक फाइनल खेल्दैछौँ र सातौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छौँ ।’ घिमिरेले भने ।

घिमिरेले फाइनलसम्म आउँदा तीन खेल राम्रो भएको र त्यही स्पिरिट फाइनलमा पनि कायम राख्ने बताए । ‘हामीले ३ खेलमा राम्रो खेलेर आएका छौँ । टिम स्पिरिट राम्रो छ,’ घिमिरेले भने, ‘हाम्रो टिम योङ छ र नयाँ खेलाडीहरु छन् । फाइनलका लागि तयार छौँ ।’

पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० ले पराजित गरेको पुलिसले सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराएर फाइनल पुगेको हो ।

मनाङ मर्स्याङ्दी समान ६ पटक उपाधि जितेको पुलिस फाइनल पुगेको ११औं पटक हो ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले उज्वेकिस्तानको टिम टेक्निकल्ली र ट्याक्टिकल्ली राम्रो रहेको बताए ।

बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले खेलेको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको हो । क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले पराजित गरेको ब्ल्याक बुल्सले पाँच पटकको आहारारा पोखरा गोल्डकप विजेता थ्री स्टारलाई ४-० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।

पुलिस क्लबका प्रशिक्षक घिमिरेले युवा खेलाडी भएपनि आफ्नो टिममा विश्वास रहेको र सातौं पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा रहेको बताए ।

पुलिसले २४ मध्ये २३ संस्करण खेलेको छ र आहरारा पोखरा गोल्डकपमा कीर्तिमान बनाउने अवसर छ । पुलिसले फाइनल जिते सर्वाधिक ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ ।

यस्तै पुलिसका कप्तान राम वाजीले पुलिस टिम पहिले र अहिले धेरै फरक भएको र यस पटक उपाधि जित्नु टिमका लागि महत्वपूर्ण हुने बताए । ‘पहिला पुलिसका स्टार खेलाडीहरु थिए । अहिले फेरिएको छ । नयाँ खेलाडीहरु छन् तर युवा जोश छ ।’ वाजीले भने, ‘चुनौती छ तर हामी तयार छौँ ।’

पुलिसका लागि फाइनलका आशिष राई र सुजन मगर हुने छैनन् । नेपाल युथ टिमबाट मैत्रीपूर्ण खेल खेल्न काठमाडौं गएकोले सेमिफाइनलमा पनि दुई खेलाडी थिएनन् । यी दुई खेलाडी नहुँदा फाइनलमा केही असर हुने तर धेरै फरक नपर्ने कप्तान वाजीले बताए । ‘उनीहरु नहुँदा केही फरक त पर्छ तर धेरै असर गर्दैन । अरु खेलाडीका लागि पनि राम्रो अवसर हुनेछ । हाम्रो स्पिरिट राम्रो छ त्यही अनुसार खेल्नेछौँ ।’

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले फाइनल खेल ५०-५० प्रतिशत हुने बताए । ‘फाइनल खेल सधैँ ५०-५० हुन्छ । हामीले पहिलो भन्दा दोस्रो खेलमा राम्रो प्रदर्शन गर्‍यौँ । फाइनलका लागि तयार छौँ र राम्रो गर्ने प्रयास गर्नेछदँ ।’ उनले भने ।

अब्दुलाजिजले पुलिस टिमको खेल हेरेको र स्टार खेलाडी नरहेपनि फास्ट गेम रहेको बताए । ‘पुलिसका ठूला स्टार खेलाडी छैन । तर उनीहरु फास्ट र टेक्निकल्ली गेम खेलिरहेका छन् । फाइनल खेल राम्रो हुनेछ ।’

यसैगरी ब्लयाक बुल्सका कप्तान जाखिनगिर अख्मादोभले फाइनलका लागि तयार रहेको र राम्रो खेल हुने बताए ।

ब्ल्याक बुल्सले उपाधि जितेमा पहिलो सहभागितामै आहरारा पोखरा गोल्डकप जितेर इतिहास रच्नेछ ।

आहारारा पोखरा गोल्डकपको विजेताले १२ लाख १ हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले ६ हजार हात पार्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours