०२ फागुन, एजेन्सी ।
माया पनि बर्खाको पानीको थोपा जस्तै हुन्छ,
कहिले रिमझिमे, कहिले बेगिलो, तर असर चाहिँ छोडेरै जान्छ।
भारतीय कवि तथा गीतकार गुलजारका यी शब्दहरू साझा गर्दै आजको प्रणय दिवस विशेष सन्दर्भलाई सुरु गर्दै छु । मायालाई व्याख्या गर्ने अनेक तरिकाहरू हुन सक्छ, अनुभव गर्ने अनेक अभ्यासहरू हुन सक्दछ तर चाहे जे होस्, जस्तो होस्, माया त मायै हो ।
तिम्रो मनमा लुकेको कुरा
नबोले पनि
भुली दिने लाई
बिर्सी दिने लाई
माया त मायै हो
लौ है! तपाईँले माया गर्नुभएको या तपाईँलाई माया गर्ने अनि एक अर्कासित माया छँदाछँदै पनि जोडिन नसकेका जीवनका धागाहरू लगायत सबैलाई यादहरूलाई लाखौँ गुलाबका फूलहरू, माया त माया नै हो, कि कसो ?

त्यो पहिलो प्रेम, स्कुलमा लुकाएर दिएको प्रेम पत्र, घण्टौँ घोरिएर शब्द रोजी रोजी पठाएका SMS हरू, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरू, पहिलो भेट, जुधेका आँखाहरू अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू… मन परेको केटा या केटी सङ्गै हुँदा या बोल्दा महसुस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसारतर्फ लाने त्यो संसार । मायाका कथाहरू याद गर्दै मायाका नयाँ आयामहरूको सुरुवात गर्ने विशेष दिन हो आज, भ्यालेन्टाइन डे ।
परिचय
इटलीका सम्राट् क्लाउडिअस दोस्रोले सैनिक नागरिकहरूको विवाहमा प्रतिबन्ध लगाउँदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रूपमा उभिएका पादरी “भ्यालेन्टाइन” को बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ।
किन होला हिजो आज बरालिन्छ, मन यो
जति बाँधी राखूँ भन्छु उति उड्छ मन यो
छाया एउटा सधैँ डुल्छ, जहाँ जहाँ म डुले
फूल भुल्यो भवरामा, कुन्नि के मा म भुले ?
करोडौँको सङ्ख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, फूलहरू अनि विभिन्न उपहारहरूको आदान-प्रदान गरी यो मायालु दिनको उत्सव अर्थात् आज नेपाल तथा विश्व भर “भ्यालेन्टाइन डे” मनाईदै छ।
भ्यालेन्टाइन डे, जसलाई सेन्ट वेलेंटाइन दिवस वा सेन्ट भ्यालेन्टाइनको पर्व पनि भनिन्छ, हरेक वर्ष आज फेब्रुअरी १४ का दिन मनाइन्छ। यो एक “वेस्टर्न क्रिस्टियन भोज” दिवसको रूपमा सुरु भएको थियो जसमा एक वा दुई प्रारम्भिक क्रिश्चियन शहीदहरू लाई सन्त भ्यालेन्टाइन को सम्मान गरिएको थियो, जुन अहिले आएर महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक, र विश्वको धेरै क्षेत्रमा रोमान्स र प्रेमको व्यावसायिक उत्सवको रूपमा लोकप्रिय भएको छ ।
उत्पत्ति
सम्राट् क्लाउडिअस २ ले पादरी भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दी बनाएर राखेको समयमा बन्दिगृहको एक सिपाहीकी छोरीसँग उनको प्रेम बस्न वा रहन गयो र मृत्यु अगाडी उनले आफ्नी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा “तिम्रो प्यारो भ्यालेन्टाइन” का तर्फबाट भनी आफूलाई प्रेषकका रूपमा गरिएको सम्बोधनबाट नै आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले हृदयनिकट व्यक्तिलाई आफ्ना भ्यालेन्टाइनका रूपमा सम्झिने गर्दछन् ।
यो दिन १४ औँ र १५ औँ शताब्दीमा रोमान्टिक प्रेमसँग सम्बन्धित हुँदै गयो। १८ औँ शताब्दीको इंगलैंडमा, यो यस्तो अवसरको रूपमा परिणत भयो जसमा दम्पतीहरूले एक अर्कासँग फूलहरू आदान प्रदान गर्ने, चकलेट र मिष्टान्नको उपहार आदान प्रदान गर्ने तथा ग्रीटिंग कार्डहरू (जसलाई “भ्यालेन्टाइन” भनेर चिनिन्छ) पठाएर एक अर्काप्रति आफ्नो प्रेम व्यक्त गर्ने चलनको थालनी गरेको देखिन्छ। भ्यालेन्टाइन डे का प्रतीकहरू जुन आजको दिनसम्ममा पनि प्रयोग गरिन्छ ती हुन्: हृदयको आकारको रातो रङ्गको चित्र वा हृदय अङ्कित कुनै सामान , जोडी ढुकुर, र कामदेवको पखेटा युक्त चित्रणहरू समावेश गरिएका वस्तु, जुन बस्तुहरू सामान्यतया भ्यालेन्टाइन डेमा उपहारको रूपमा आदान प्रदान गरिने गरिन्छ।
विश्वव्यापी रूपमा यसको उत्सव
भ्यालेन्टाइन डे उत्सव – बधाई कार्डहरू पठाउँदै, मिठाई आदान – प्रदान गर्दै र फूलहरू एक आपस लाई प्रदान गर्दै – प्रारम्भिक आधुनिक इंगलैंडमा विकसित भयो र १८-१९ औँ शताब्दीमा अंग्रेजी बोल्ने देशहरू हुँदै विश्वभर नै फैलिँदै गयो। पछि २० औँ र २१ औँ शताब्दी तिर, यो चलन अन्य देशहरूमा पनि फैलियो, जसरी हेलोवीन, वा क्रिसमस अनि सान्ता क्लाउड फैलिएका छन्। सिंगापुर, चिनियाँ र दक्षिण कोरियालीहरूले भ्यालेन्टाइनको उपहारमा सबैभन्दा बढी पैसा खर्च गर्दै पूर्वी एसियाली देशहरूमा भ्यालेन्टाइन दिवस मनाउने गरेको पाइएको छ।
परम्परा र आगमन
नेपालमा, प्राचीन कालमा, प्रेमदेवका स्वामी कामदेवको पूजा गर्ने परम्परा रहेको थियो; जुन अहिले पनि विभिन्न मन्दिरका टुँडालहरूमा कुदिएका कामुक कलाकृति बाहेक कामसूत्रको लेखन समेत पनि यही कतै भएको हुन सक्ने र त्यसको एक उदाहरण पनि हो। यो परम्परा मध्य युगको वरिपरि हराइसकेको थियो, र सार्वजनिक स्थलहरूमा स्नेहको सार्वजनिक प्रदर्शनहरू नराम्रा दृष्टिले हेरिन थालियो। तर, १९९० को अन्तिममा आएर सार्वजनिक स्नेहमाथि को यो दमन पनि अलि खुल्ला हुन थाल्यो।
भ्यालेन्टाइन डे उत्सव नेपालमा १९९२ को आसपास देखि वा अर्को शब्दमा भन्नु पर्दा १९९० उत्तरार्द्धमा बिस्तारै सबैको सामु पुगेको विषयवस्तु हो। यो एम टिभी, तथा पूर्वीय गीत-सङ्गीतमा समर्पित एफएम रेडियो कार्यक्रमहरू र “प्रेम पत्र प्रतियोगिता” जस्ता व्यावसायिक टिभी च्यानलहरूमा भएका कार्यक्रमहरूको माध्यम बाट जनमानसमा फैलिएको थियो। प्रजातन्त्र र नयाँ व्यवस्था को विस्फोटले यसलाई थप मलजल र अनुमति दिएको देखिन्छ।

यस उत्सवले कसरी मानिसहरूले आफ्नो माया प्रेम-स्नेह आदी प्रदर्शन गर्दै छन् भन्ने कुरामा तीव्र परिवर्तन ल्याएको देखिन्छ। जोडीहरूले प्रेमको प्रमाणको रूपमा मिठाईका बक्स हरू र उपहारहरू एक अर्कामा आदानप्रदान गर्न भ्यालेन्टाइन दिनको अवसर लिन्छन्। त्यस्ता उपहारहरूमा सामान्यतया चकलेट, कप केक, र रातो गुलाब इत्यादि समावेश गरिएका हुन्छन् जुन बलिदान र प्रेम को प्रतीक मानिन्छ।
यस शताब्दी को नयाँ समयमा इन्टरनेटको लोकप्रियता र त्यसको प्रयोगको अत्यधिक वृद्धिले नयाँ परम्पराहरू पनि सिर्जना गरिरहेको देख्न सकिन्छ। लाखौँ व्यक्तिहरू, प्रत्येक वर्ष, भ्यालेन्टाइन डे दिवसको अवसरमा अभिवादन सन्देशहरू, ई-कार्डहरू, वा प्रिन्ट गर्न योग्य ग्रीटिंग कार्डहरू जस्ता सामग्री हरू पठाउनको लागि डिजिटल माध्यमहरू प्रयोग गर्ने गर्दछन्।
उपसंहार
विदेशी पर्व वा उत्सव भए पनि नयाँ पीढीहरूले सबै प्रकारका पर्व चाहे त्यो आफ्नै देशको होस् वा आगन्तुक नै किन नहोस् सबैलाई समान सम्मान र व्यवहार गर्दै मनाउने अनकन पर्व मध्ये यो एक उत्सव पनि पर्न आउँछ। कसै कसैका लागी यस्तो आगन्तुक पर्व हरू विकृति को प्रतीक वा आफ्नो पहिचान माथि आक्रमण भएजस्तो लागे पनि खासमा भन्नु पर्दा यो पर्व भनौँ वा यो दिन “प्रेम दिवस” को रूपमा हेर्ने हो भने नेपालको नेवा: समुदायहरूले सदियौँ अगाडी देखि नै “मतिना पारु” नामक प्रेम दिवस मनाउने गरेको तर अहिले लोपोन्मुख झैँ भइसकेको उक्त दिवस सँग यस भ्यालेन्टाइन डे दिवसको समानता देख्न सकिन्छ। यो पनि पढ्नुहोस्, “मतिना पारु: नेवा: हरुको मौलिक प्रेम दिवस”।
अब नयाँ पीढीले नै सोच्नु पर्ने बेला आएको छ, हामी र हाम्रो विभिन्न समुदायहरू सँग रहेका लोपोन्मुख पर्व वा दिनहरूलाई पनि सम्मान गरेर बिउँताउँदै अगाडी बढ्ने हो की ? वा सबै आगन्तुक दिवसहरूको पनि सम्मान एवम् आफ्नो मौलिक दिवस तथा पर्वहरूलाई अझ धेरै सम्मान गर्दै ती दिवस र पर्वहरूलाई पनि फेरि बिउँताउने, मनाउने आदी गर्दै सबैलाई समान सम्मान दिएर अगाडी बढ्दा अझ राम्रो हुने थियो कि। अब यसको निर्क्योल गर्ने पालो नयाँ पुस्ताको हातमा नै रहेको छ।
+ There are no comments
Add yours