०२ फागुन, काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटस्थित एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । युवाहरुबीच एक आपसमा विवाद हुँदा प्रतापुर गाउँपालिका-९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको मृत्यु भएको हो ।
बर्दघाट नगरपालिका-१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा गत माघ २८ गते मध्यराति दुई पक्षबीच कुटाकुट भएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएको चौधरीको उपचारको क्रममा बुधबार साँझ बुटवलमा मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर-१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।
डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ । घटनामा मिन्टु र सरोजकुमार चौधरी पनि घाइते भएका थिए । पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भै थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
+ There are no comments
Add yours